७ कार्तिक २०८३, शनिबार

रामकुमारीको पार्टी एकताविरोधी धारणा : ‘हस्ताक्षर फिर्ता लिइने छैन, लिने कुरै आउँदैन’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीलाई ‘स्टेपडाउन’ नगरी एमालेमा एकता असम्भव रहेको बताउँदै आएकी नेतृ रामकुमारी झाँक्रीले कार्यदलको सहमति मस्यौदाप्रति अहिले नै सहमति जनाएर खुशी मनाउन पर्ने स्थिति नभएको बताएकी छिन् ।

आइतबार राति कार्यदलले सहमतिका लागि १० बुँदे प्रस्ताव तयार पारेर अन्तिम रुप दिएपछि एमाले पङ्क्तिमा यतिबेला खुशी छाइरहेको छ । तर, जिम्मेवार नेतृ रामकुमारी झाँक्रीले भने अझै पनि पार्टीको एकता भत्काउने तथा एकता हुनै नदिने आशयको धारणा सार्वजनिक गरिरहेकी छिन् ।

उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको समर्थनसहितको हस्ताक्षर फिर्ता नहुने तथा कार्यदलले गरेको सम्झौताको स्वागत गर्न समेत हतार नगर्न आग्रह गरेकी छिन् । आफ्नो समूहको केन्द्रीय कमिटी बैठक बसेर मात्रै आधिकारिक धारणा बनाउने उनको भनाइ छ ।

आज सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमा चारबुँदे प्रतिक्रिया लेख्दै झाँक्रीले अदालतमा निवेदकको रुपमा रहेका सांसदहरुले अदालतको निर्णय प्रभावित हुनेगरी हस्ताक्षर फिर्ता नलिइने स्पष्ट पारेकी छिन् । झाँक्रीले हस्ताक्षर फिर्ता लिन्छन् भनेर भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेकी छिन् ।

यस्तै स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण गरिने पनि उनले लेखेकी छिन् ।

उनले बुँदागत रुपमा सार्वजनिक गरेको धारणा यस्तो छः–

१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे संझौताबारे संस्थागत धारणा आउने छ ।

२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयनयोग्य हुँदैन । बैठक जाने कुरा हुन्न ।

३. अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुनेगरी हस्ताक्षर फिर्ता लिइने छैन । लिने कुरै आउँदैन ।

४. भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौं । निरास पनि नबनौं । राजनीति हो यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा नदिइकन गरिने कुनै पनि सहमतिका आधारमा आफू पार्टीमा नफर्किने अडान उनले राख्दै आएकी छिन् । यसबाट उनी पार्टी एकताको पक्षमा नरहेको समेत पुष्टि हुन्छ ।