शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

तल्लो अरुणमा समझदारी, २१ प्रतिशत ऊर्जा निःशुल्क

दैनिक नेपाल २०७८ असार २८ गते ७:४५

काठमाडौं, २८ असार । कुल उत्पादित ऊर्जामध्ये २१ प्रतिशत नेपालले पाउने सर्तसहित लगानी बोर्ड कार्यालय र भारतीय कम्पनी सतलजसँग तल्लो अरुण आयोजना निर्माणको समझदारीपत्रमा हस्ताक्षर भएको छ । गत वर्ष माघ १६ मा बसेको लगानी बोर्ड बैठकले यो आयोजना निर्माण जिम्मा सतलजलाई दिने निर्णय गर्दै बोर्ड कार्यालयलाई समझदारीपत्रको मस्यौदा तयार पार्न निर्देशन दिएको थियो ।

६७९ मेगावाट जडित क्षमता हुने अनुमान गरिएको आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षणपत्र जारी गर्न समझदारीपत्रमा हस्ताक्षर भएको बोर्ड कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बोर्ड प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रको अवधि २ वर्षको हुने बोर्ड कार्यालयले जनाएको छ । सतलजले २ वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन पूरा गर्नुपर्ने सर्त छ ।

तल्लो अरुण सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्ने, स्वामित्व लिने, सञ्चालन गर्ने र हस्तान्तरण गर्ने (बुट मोडल) मा विकास गर्न सतलज लिमिटेड भारतलाई छानिएको हो । आयोजना निर्माणका लागि बोर्ड कार्यालयले इच्छुक तीन कम्पनीसँग प्रस्ताव मागे पनि दुई कम्पनीले मात्रै प्रस्ताव पेस गरेका थिए ।

बोर्डले व्यावसायिक उत्पादन थाल्ने मिति, वर्किङ मोडालिटी, निर्यात गर्ने आधार, सुक्खायाम र वर्षायाममा विद्युत्‌को शुल्क जस्ता आधारमा सतलजलाई आयोजना निर्माणको जिम्मा दिने निर्णय गरेको थियो । विजय तिमिल्सिनाले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित