
काठमाडौं, २७ असार । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरिनुपर्ने बताएका छन् ।
आज आइतबार राष्ट्रिय सभाको बैठकमा गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाबीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भए पनि राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्नेमा जोड दिएका हुन् ।
उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०८९ को बजेट राष्ट्रियसभामा पेस गर्नुपर्ने माग पनि गरेका छन् । नियमावली परिवर्तन गरेर भए पनि प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभाबाट बजेट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय सभालाई बजेटबारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उनको तर्क छ ।
यसअघि पनि गौतमले आफू प्रधानमन्त्री बन्नका लागि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने आवाज जोडतोडका साथ उठाएका थिए । संविधान संशोधन गरेर भए पनि उक्त व्यवस्था गर्नुपर्ने भन्दै उनले पुरानै मुद्दालाई आज उजागर गरेका छन् ।
उक्त मुद्दाका कारण यसअघि आलोचित र विवादित बनेका गौतमले पुनः सोही मुद्दालाई जोड दिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा पनि हेरिएको छ । पार्टीभित्रको विवादमा असन्तुष्ट पक्ष माधव–झलनाथको खेमामा उभिएका गौतम पछिल्लो समय निःशर्त बालुवाटार छिरिसकेका छन् ।















प्रतिक्रिया