१६ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा भानु जयन्ती विशेष ‘भानुभक्तमाथि विमर्श’ सम्पन्न

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, २६ असार । अन्तर्राष्ट्रिय नेपाली समाज अन्तर्गत भाषा तथा साहित्य समितिको आयोजनामा भानु जयन्ती विशेष कार्यक्रमको पहिलो सत्र समापन भएको छ ।

भर्चुअल माध्यमबाट भएको पहिलो सत्रको ‘भानुभक्तमाथि विमर्श’ कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. गंगाप्रसाद उप्रेती रहेका थिए । उनले भानु जयन्ती यसरी मनाउनु नेपाली भाषा साहित्यलाई उजागार गर्न ठूलो टेवा पुग्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एउटा ठूलो बहसको सुरु भएकोमा आयोजक प्रति धन्यवाद दिँदै आउँदा दिनमा समन्वय गर्ने प्रमुख अतिथि उप्रेतीले बताएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि तथा प्रमुख वक्ता प्रा. डा. व्रतराज आचार्यले भानुभक्तका जीवनशैली र उनको लोकप्रियता कसरी भयो भन्नेबारे गहन रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी, भानुभक्तका रचनाहरुमाथि सह प्रा. प्रभा आचार्य भट्टराईले विश्लेषण गरेकी थिइन् भने उप. प्रा. ज्ञानु अधिकारीले वधुशिक्षा कृतिमा रहेर आफ्ना समालोचना प्रस्तुत गरेकी थिइन् ।

प्राज्ञ डा. देवी नेपाल र गायिका तथा संगीतकार लोचन भट्टराईले भानुभक्तका रचनाहरु वाचन गरेर कार्यक्रमलाई मन्त्रमुग्ध बनाएका थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य डा. तुलसी भट्टराईले भानुभक्तका आयामहरुको चर्चा गरेका थिए ।

यस्तै भानुबारे मनमैजु माविका प्रधानाध्यापक रविना महर्जनले निर्माण गरेको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो ।

त्यस्तै, प्रकाश सिलवाल र कविता राईले समकालीन कविता वाचन गरेर कार्यक्रमको रौनकता बढाएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले कार्यक्रममा उत्साहजनक सहभागीताका लागि धन्यवाद दिएका थिए ।

कार्यक्रमलाई भाषा तथा साहित्य समितिका महासचिव डा. चैतन्य अधिकारीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य राेमकान्त सापकाेटाले राखेका थिए ।

त्यस्तै, कार्यक्रमको दोस्रो सत्र ‘सिर्जना वाचन’ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा आइतबार दिउँसो ३ बजेबाट हुने इन्स भाषा तथा साहित्य समितिकी अध्यक्ष डा. जानुका नेपालले जनाएकी छन् ।