७ कार्तिक २०८३, शनिबार

झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २४ असार । झापा कारागारमा रहेका कैदीबन्दीले सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि राहतस्वरुप रू. ५० हजार १०० नगद पठाइदिएका छन् ।

वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले बुधबार कैदीबन्दीले सो नगद रकम पठाएका हुन् ।

‘परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ’, कारागार झापामा कैदीबन्दीतर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले भने, ‘सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टी पुगोस् भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएका हौँ ।’

कैदीबन्दीले जम्मा गरेको रकम बुधबारै पालिकाको विपद् राहत कोषको खातामा जम्मा गरिदिएको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताए । कारागारमा ७६ जना महिला र १ हजार १४६ जना पुरुष कैदीबन्दी छन् । रासस