शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

देउवालाई हराउने वा जिताउने महाधिवेशन प्रतिनिधिले हो, ‘फलानो’ले होइनः नैनसिंह महर

नैनसिंह महर २०७८ असार २४ गते ८:२३

नैनसिंह महर, पूर्वअध्यक्ष, नेविसंघ एवम् युवा नेता, नेपाली कांग्रेस

नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष बनेर कुशल नेतृत्व दिएका नैनसिंह महर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार बन्ने तयारीमा छन् । महरलाई पदाधिकारीमा उम्मेदवार बन्न सुझावहरू आएका छन् । पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै सर्वसम्मत गराउन सकियो भने आउँदै गरेका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले एकलौटी जित्न सक्ने उनको विचार छ । महरले पारिवारिक विरासतका आधारमा कुनै पनि नेताले कांग्रेसको नेतृत्व दाबी गर्छु भन्नु उचित नहुने बताउँछन् । कांग्रेसको १४औँ महाविधेशनका विषयमा हाम्रा सहकर्मी विमल योगीद्वारा नेविसंघका पूर्वअध्यक्ष एवम् कांग्रेसका युवा नेता नैनसिंह महरसँग गरिएको कुराकानीको सम्पादित अंश–

नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौमा हुँदैछ । महाधिवेशन नजिकिदै गर्दा गुट र उप–गुटहरू धेरै जन्मिएका छन् यसलाई कसरी हेर्नुभएको छ ?

प्रजातान्त्रिक पार्टीमा प्रजातन्त्र भन्नेवित्तिकै चुनाव हुने र चुनाव हुनेवित्तिकै हारजितको प्रक्रिया हुने भएका कारणले समूहगत रुपमा केही गुटहरू निर्माण हुने अथवा विचार समूह निर्माण हुनेभन्ने प्रक्रिया ठूलो कुरा भएन । हारजित स्वभाविक रुपमा भइरहन्छ । नेपाली कांग्रेसको पाँच वर्षे कार्यकाललाई मध्यनजर गर्ने हो व्यक्ति, गुटभन्दा बाहिर जान सकेन । आम कांग्रेसको साझा नेता बन्न नसक्नु दुर्भाग्य हो । नेपाली कांग्रेस गतिशीलता छ । जीवन्त पार्टीले आफूलाई सशक्त बनाउने योजना हुन्छ । त्यसलाई बाधा पुर्‍याउँनु हुँदैन । हिजोका दिनमा गुटका बहानामा नेतृत्वलाई काम गर्न नदिएर बाधा हुन पुग्यो । नेपाली कांग्रेस जुन रफ्तारमा जानुपर्ने थियो, जान सकेन ।

बिहान ७/८ बजे बोलाएको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अधिकांश समय तोकिएको समयमा बस्न सकेन । बिहान बोलाइएका बैठक गुटगत, उप–गुटगत आधारले बेलुका ८/९ बजे मात्रै बस्ने गरेको देखोका छौँ । त्यसमा पनि गुट र उप–गुटका बैठक बसेर १/२ दिन अगाडि निर्णय गरेर कसैले निर्णयको मोबाइलमा फोटो खिचेर लैजाने, कसैले चिट खल्तीमा हालेर लैजाने र त्यसलाई गुटगत रुपमा प्रस्तुत गर्ने काम भयो । गुटबाट आएकाहरूले गुटभन्दा बाहिरको कुरा नबोल्ने परम्परा छ । हुन त कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा व्यक्तिगत स्वतन्त्रता छ । गुटलाई फस्टाउन दिने हो र हरेक व्यक्तिको स्वतन्त्रतालाई उप–गुटले नियन्त्रण गर्ने हो भने कुनै पनि जीवन्त पार्टीलाई देश बनाउने उसको चाहना पूरा हुनका लागि सकसपूर्ण अवस्था हुन्छ ।

१४औँ महाधिवेशनमा पार्टी सभापति सर्वसम्मत हुने अवस्था छ कि छैन ?

नेपाली कांग्रेसको इतिहाँसमा वीपी कोइराला सभापति भएका बेला पनि निर्वाचन भएका स्थिति देखिन्छ । कांग्रेसको केही ऐतिहाँसिक पृष्ठभूमि हेर्ने हो भने आफैले छोडेको बाहेक वा आफैले म उभिदैन भन्ने बाहेकमा कांग्रेसको स्वभाविक रुपले दुइचोटी लिडरसिप लिएको अवस्था छ । जो सभापति छ त्यसैले नै निरन्तरता गर्ने पनि ऐतिहाँसिक पृष्ठभूमि पनि देखिन्छ । कांग्रेसको अहिलेको महाधिवेशनमा लिडरसिपको सवाललाई हेर्दा नेतृत्वको खिचातानी छ । यसलाई हेर्दा पार्टी निर्माणमा योगदान दिने सबै योजनाहरू अगाडि आइरहेका छन् । यसलाई कसरी व्यवस्थित हुन्छ हेर्दै जाऔँ ।

निर्विरोध हुने सम्भावना नहुने भन्ने कुरा छैन । हुन सक्छ । लिडरसिप भयो भने मात्रै निर्विरोध हुने कुरा रहन्छ । सर्वसम्मत नेतृत्व अथवा सभापति आउने सम्भावना रह्यो भने आगामी निर्वाचनहरूमा कांग्रेसले सशक्त रुपमा काम गर्न सक्छ । गुटगत आधारले हिजो जस्तै समूह बन्यो भने फेरि पनि एउटा गुटले केन्द्रीय विधानअनुसार काम गर्न नसक्ने स्थिति रहन्छ । हिजोका दिनमा त्यो स्थिति थियो । गुटकै कारणले हरेक ठाउँमा बार्गेनिङको अवस्था आएको छ । यसले पार्टीमा सशक्तता ल्याउन सक्दैन ।

सभापतिमा सर्वसम्मत हुने अवस्था आयो भने कुन नेताको पक्षमा सर्वसम्मत हुने अवस्था देख्नु हुन्छ ?

बरकरार रहेको पार्टी सभापति अर्थात जो अहिले पार्टी सभापति हुनुहुन्छ उहाँले म उठ्दैन भन्ने कुरा बाहेकमा उहाँले इन्ट्रेस्ट जनाइसकेपछि नेपाली कांग्रेसको लिडरसिप वा पार्टीको प्रमुख हुनको लागि केही निश्चित आधारभूत कुराहरू चाहिन्छ । पार्टी सभापति हुनको लागि अनुभव, योग्यताका आधारमा वर्तमान पार्टी सभापति नै आफ्नो इन्ट्रेस्ट नै देखाइ सकेपछि निर्विरोध हुने सम्भावना पहिलो र बढि सम्भावना उहाँकै होला । वर्तमान पार्टी सभापतिले अर्कैलाई भन्नुभयो भने मैले भन्न सक्दैन । अहिले कसैले कसैलाई समर्थन गर्ने स्थिति छैन । सर्वसम्मत हुने कुरा आयो भने त बरकरार रहेको अहिलेको पार्टी सभापतिको अधिकार हो । सभापति निरन्तर हुने कुरा हिजोको ऐतिहाँसिक पृष्ठभूमिले पनि देखिएको कारणले अहिलेकै सभापतिलाई नै सर्वसम्मत गराउन सकिन्छ ।

वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीका छोराहरूले शेरबहादुर देउवालाई सभापतिमा मैले मात्रै हराउन सक्छु भनेर भन्न थालेका छन् । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?

नेपाली कांग्रेसको लिडरसिप पारिवारिक दृष्टिकोणले परिवारको कन्ट्रिब्युशनले हिजो स्थापित नभएको चाहिँ होइन । तर, समयले धेरै कोल्टो फेरिसक्यो । हिजोका दिनमा समाजमा मिडिया, सचेत भएका नागरिकहरूको अभाव थियो । त्यस बेला पारिवारिक विरासत धेरै फस्टाएको थियो । अहिले नेपाली समाज विश्वव्यापीकरण भइसकेका र सबै सचेत रहेकेका कारणले अब पारिवारिक विरासतमा विश्वास राख्ने अवस्था चाहिँ नेपाली जनमानसमा छैन । पारिवारिक विरासतका आधारमा नेतृत्व हत्याउने कुरामा विश्वास गर्ने कांग्रेसको कार्यकर्ताहरूमा मैले देख्दैन ।

योग्यता, अनुभव र विशेष गरेर ४५ सय महाधिवेशन प्रतिनिधिले मेरो नेता यो बनोस भन्ने लाग्छ वा मेरो नेता यस कारणले यो हुनुपर्छ भन्ने जहिलेसम्म लाग्दैन तबसम्म पारिवारिक विरासतले पनि खासै अर्थराख्ला जस्तो लाग्दैन । नेपाली कांग्रेसमा विरासत भन्ने कुरा प्रजातन्त्रभित्र हुन सक्दैन । स्वभाविक रुपले अलिकति सजिलो पारिवारिक पृष्ठभूमि भएको परिवारले धेरै ठूलो कन्ट्रिब्युशन गरेको भनेर नेताहरूलाई फाइदा हुन सक्ला । अहिले नेपाली समाज भनेको खुकुलो भइसकेको कारणले योग्यता र क्षमतालाई नजरअन्दाज गरेर पारिवारिक पृष्ठभूमि अथवा कसैको अरु चाहनालाई उसले खास सहयोग गर्छ जस्तो मलाई लाग्दैन । ४५ सय महाधिवेशन प्रतिनिधिलाई जसले कन्भिन्स गर्न सक्छ त्यो नै नेता हुन्छ ।

महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवालाई हराउन मैले मात्रै सक्छु भन्ने गर्नुभएको छ । रामचन्द्र पौडेलले पनि देउवालाई हराउन सक्नु हुन्न भनेर महामन्त्रीले भन्ने गर्नुभएको छ । यो भनाइ जायज हो ?

नेपाली कांग्रेसमा सशक्त नेतृत्व र पार्टीको जरुरत हो । कांग्रेसभित्र कुनै पनि नेता गुटविहीन भएको पाइएन । गुट र उप–गुटमा रुमल्लिएका कारणले महामन्त्रीको अभिव्यक्ति पनि त्यसैको पेरिफेरिमा छ । हराउने वा जिताउने भनेको महाधिवेशन प्रतिनिधिहरूले जसलाई मन पराउँछन् त्यही जित्ने र त्यही हार्ने हो । ४५ सय महाधिवेशन प्रतिनिधि आउँदैछन् । उनीहरूको स्वविवेकको आधार भएको कारणले आफूले जित्छु र हार्छु भन्ने कुराले खासै अर्थ राख्दैन ।

शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीको भेटवार्ता तथा गुटबन्दीलाई कसरी हेर्नुभएको छ ?

छलफल तपाई र मैले पनि गर्न पायौँ । कांग्रेसका कार्यकर्ता हुन् वा बाहिर जसले पनि जोसँग सम्वाद गर्न पायो । त्यसलाई मैले धेरै ठूलो अनर्थमा लिएको छैन । तर, उहाँहरू जत्तिको नेताहरूले पार्टीको महाधिवेशन कसरी सम्पन्न गर्ने हो ? भनेर सोँच्चनु पर्छ । पार्टीको पदाधिकारी हुनुहुन्छ । पार्टीको पूर्वपदाधिकारी हुनुहुन्छ । उहाँहरूले महाधिवेशन कसरी सम्पन्न गर्ने हो ? र साझा नेता कसरी बन्न सक्ने हो भन्ने कुरामा जानुपर्ने हो । महाधिवेशन सम्पन्न गर्ने, सक्रिय सदस्यता वितरणको यती ठूलो समस्या छ, यसमा कन्ट्रिब्युशन गर्नुपर्ने थियो ।

बाहिर बसेर खाली कुनै जिम्मेवारी नलिएको व्यक्तिको जस्तै आफूलाई प्रस्तुत गर्दा उहाँहरूको व्यक्तिगत कद घट्छ जस्तो मलाई लाग्छ । महाधिवेशन सम्पन्न गर्ने सवालमा र सहयोग गर्ने विषयमा उहाँहरूको छलफल केन्द्रित हुनुपर्छ । महाधिवेशन हुन्छ कि हुँदैन भनेर कार्यकर्ताहरूमा दोधार छ । उनीहरूलाई महाधिवेशन हुन्छ भन्ने कन्फिडेन्स दिलाउने हो । महाधिवेशन कुनै पनि हालतमा हुन्छ भनेर भन्नुपर्छ । सहयोग गर्नुपर्छ । हामीले महाधिवेशन यसरी सम्पन्न गर्छौ भनेर उहाँहरूले आधार तय गर्ने हो । त्यो अनुसारको काम गर्ने बेला हो जस्तो लाग्छ । उहाँहरूलाई मेरो सुझाव पनि यही छ ।

१४औँ महाधिवेशनबाट पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधीमध्येबाट कुन नेता बनोस् जस्तो लाग्छ तपाईलाई ?

नेपाली कांग्रेसको पार्टी सभापतिमा दोस्रो कार्यकालका लागि सबैभन्दा पहिलो अधिकार वर्तमान सभापतिकै हुन्छ । उसले नै बढि अधिकार राख्नु हुन्छ । अहिलेको अवस्थामा ‘टल’ व्यक्तित्व पनि शेरबहादुर देउवामा छ । नयाँ युवा र पुराना सबैलाई मिलाएर शेरबहादुर देउवाकै लिडरसिपमा नेपाली कांग्रेसको महाधिवेशनलाई हामीले निर्विरोध सम्मपन्न गर्न सक्यौँ भने त्यसले ओझपूर्ण अर्थ राख्छ । नेपाली कांग्रेसको संगठन पनि दह्रो बनाउन सकिन्छ । गुटगत प्रवृत्तिबाट नेपाली कांग्रेसलाई अन्त्य गर्नुको बिकल्प छैन । विगतमा गुटले नेपाली कांग्रेसको विधान अनुसार काम गर्न पाइएको छैन ।

१४औँ महाधिवेशनमा कांग्रेसले कस्ता एजेण्डलाई बोक्नुपर्छ ?

कांग्रेससँग नेपाली जनता होलान् । तर, जनतासँगको सामिप्यता र सम्पर्क हाम्रो घटेको छ । राजनीतिले समाजको विकास र समाजलाई छोडेको अनुभूति जनताले गरिरहेका छन् । नेताको नेतृत्व अलग छ । नीति तथा कार्यक्रमहरू कार्यान्वयन हुन सकिरहेका छैनन् । राजनीति समाजसेवा होइन भन्ने प्रवृत्तिले जसरी जरो गाडेको छ, त्यसलाई हटाएर समाजसेवा नै राजनीति हो भन्ने विश्वास दिलाउनुपर्छ । अहिले राजनीतिभित्र नैतिक आचरणको कमी छ । राजनीति संस्कार निर्माण हुन सकेको छैन । राजनीतिमा कु–कर्म गर्ने व्यक्ति पनि छ । इमान्दार व्यक्ति पनि राजनीतिमा छन् । कु–कर्म गर्ने व्यक्ति राजनीतिमा रह्यो भने इमान्दार राजनीति गर्ने व्यक्तिलाई चित्त दुःख छ । राजनीति गर्नका लागि केही मापदण्ड हुन्छन् । राजनीति गरेर समाज र देशलाई समग्र परिवर्तन गर्छु भन्ने सोँच हुने व्यक्ति सशक्त हुनुपर्छ भन्ने कुरा आवश्यक छ ।

शिक्षा र स्वाथ्यलाई निःशुल्क गर्नुपर्छ भन्ने नै मेरो एजेण्डा हो । हुनेले दिने, नहुनेले निःशुल्क पढ्न पाउनुपर्छ । स्वास्थ्यमा पनि त्यही कुरा लागू हुनुपर्छ । सर्वसुलभ यातायातको व्यवस्था हुनुपर्छ । जलस्रोत र पर्यटनसहितको विकास कसरी गर्ने भन्ने कुरामा पनि हामीले विशेष ध्यान दिनुपर्छ । विकासका सन्दर्भमा कति वर्षमा के काम गर्ने भनेर कांग्रेसले तालिका ल्याउनुपर्छ । संगठनका सन्दर्भमा एक व्यक्ति नेपाली कांग्रेसको हरेक तहमा दुई कार्यकालभन्दा धेरै समय यही पदमा बस्न नपाउने निर्णय गर्नुपर्छ । आरक्षण र सहुलीयतका नाममा पहुँच भएको व्यक्तिले सधैँ लिने परम्परा तोडिनुपर्छ । अवसरको समान वितरण गर्नुपर्छ । एउटा मानिस सधैँका लागि भइराख्ने, अरुले कहिल्यै अवसर पाउँदै नपाउने भन्ने कुरा र जमिन्दारी प्रथा हट्नुपर्छ । नेपाली कांग्रेसले सबैका लागि समान अवसरको बाँडफाँड गर्छ भन्ने कुरा देखाउनुपर्छ ।

१४औँ महाविधेशनमा तपाई उम्मेदावर हो कि होइन ? उम्मेदवारी दिनुभयो भने कुन पदमा दिनु हुन्छ ?

अहिलेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको लागि काम गर्न योग्य छु र काम गर्न सक्नु भन्ने लागेको छ । मैले ६७ जिल्ला घुमेर साथीहरूसँग सरसल्लाह गरेको छु । उहाँहरूकै सरसल्लाअनुसार नै मेरो उम्मेदवारी हुनेछ । साथीहरूले पदाधिकारीमा रहेर कांग्रेसको सेवा गर्नुपर्छ भन्नुभएको छ । समय घर्कीसकेको छ । पदाधिकारीमा म केन्द्रीय कार्यसमितिमा रहेर काम गर्न इच्छुक छु । अबको निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्छ भन्ने विश्वासको साथ म लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित