
काठमाडौं, २१ असार । नेपाली सेनाले नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण गरेको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्डाममा सोमबार आयोजित एक कार्यक्रमकाबीच विभिन्न किसिमका ३०० नाल हतियार तथा सोको ४२ हजार ३७० गोटा एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिनगनहरु गरी जम्मा १० हजार ८१८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ जेठ १७ गतेको निर्णयबमोजिम तीन चरणमा उपलब्ध गराउने योजना अनुसार पहिलो चरणमा ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरिएको बताइएको छ ।
नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु सञ्चालन गर्ने प्रयोजनका लागि हतियार उपलब्ध गराउन नेपाल सरकारबाट उक्त निर्णय भएको हो ।
उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने उक्त अवसरमा जानकारी दिइयो । उपलव्ध गराईएका हतियारहरुको मर्मत सम्भार तथा अपरेसन तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ ।
उक्त अवसरमा नेपाली सेनाको तर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्रमणि गिरी र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा बिच नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण सम्बन्धि सम्झौतापत्र आदान प्रदान भएको थियो ।
कार्यक्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।















प्रतिक्रिया