७ कार्तिक २०८३, शनिबार

देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिने समयसीमा आज सकिँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थनसहितको हस्ताक्षर फिर्ताका लागि एमाले संस्थापनले माधव–झलनाथ पक्षलाई दिएको समयसीमा आज सकिँदै छ ।

गत शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले आज साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता गर्न दिएको समयसीमा सकिन लागेको हो । हस्ताक्षर फिर्ता गराउने प्रयासस्वरुप आइतबार संस्थापन पक्षका नेताहरुले नेता नेपालसहित नेपाल पक्षीय नेताहरुसँग छलफल गरे पनि कुनै ठोस निर्णय हुन सकेको छैन ।

संस्थापनले अल्टिमेटम दिए पनि माधव पक्षका नेताहरुले भने हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेका छन् । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्नाका साथै २३ जना सांसदलाई कस्तो कारबाही हुन्छ भन्ने चासो बढेको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमाले व्युँताइदिएपछि पार्टी एकतापूर्व जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने भन्दै अन्तरसंघर्ष चल्दै आएको छ ।

कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस, बागमती प्रदेशमा पार्टी उम्मेदवार विरुद्ध बागी खडा तथा केन्द्रमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले भित्रको विवाद थप उत्कर्षमा पुगेको हो ।

उक्त हस्ताक्षर फिर्ता लिएर पार्टी एक भएको सन्देश दिन ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नुपर्ने प्रस्ताव दोस्रो तहका नेताहरुले गरेका छन् । तर, शीर्ष नेताहरुमा रोष र कुण्ठाको पारो नघटेका कारण यो प्रस्ताव पनि तुहिने देखिएको छ ।