७ कार्तिक २०८३, शनिबार

नागरिक लगानी कोषको ९ प्रतिशत सेयर र ८.८९ प्रतिशत नगद लाभांश पारित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७६/७७ को आम्दानीबाट नौ प्रतिशत लाभांश सेयर र ८.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कोषको शुक्रबार सम्पन्न २६औँ वार्षिकोत्सव एवं साधारणसभाबाट उक्त प्रस्ताव स्वीकृत भएको हो । त्यसैगरी साधारणसभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ । उक्त प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहसम्बन्धी विवरणसमेत पारित गरेको कोषले जनाएको छ ।

कोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक खर्ब ७२ अर्ब रुपैयाँ बराबरको रकम संकलन गरेको छ । यस्तै सो अवधिसम्म एक खर्ब ७१ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । कोषको पुँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको छ ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको छ । खुद नाफामध्ये बाँडफाँटयोग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रुपैयाँ रहेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै थप विस्तारितरूपमा अगाडि बढ्ने उल्लेख गरे । कोषको कारोबार विस्तार गर्दै स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम सुरु भइसकेको कार्यकारी निर्देशक नेपालको भनाइ छ ।

मुलुकको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार सुरु भएको छ ।

कोषले एनएलके वेभ बेस्ड सफ्टवेयर पूर्णरूपमा लागू गरेको छ भने सरकारको सरकारी लेखा प्रणाली (सीगास) सफ्टवेयरमा डाटा आदानप्रदान गर्ने कार्य सम्पन्न भएको छ ।

त्यस्तै नयाँ सफ्टवेयरको प्रयोगका लागि आवश्यक उपकरण खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले सेवा विस्तार गर्दै कोषलाई भरपर्दो संस्थाका रूपमा अगाडि बढाइएको जानकारी दिए । रासस