
चितवन, १९ असार । चितवनको रत्ननगर नगरपालिकाले दुई वर्ष नहुँदै बच्चालाई आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने प्रस्ताव पारित गरेको छ ।
नगरपालिकाले योसहित नवौं नगर सभा बजेट, नीति तथा कार्यक्रमसहित विभिन्न १७ वटा प्रस्ताव पारित गरेको छ । यही असार ६ गतेदेखि शुरू भएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित महत्त्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको नगरपालिकाले जनाएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्ब २६ करोड रुपैयाँको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ ।
नगरसभाले बालविवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइ सराइ तोकिएको समयभित्र गरी पञ्जीकरणलाई व्यवस्थित गर्ने, नगरभित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्वअनुमति लिनुपर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै प्रस्तावहरुमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, नगरसभाबाट पारित भएको बजेट शीर्षक र रकम सभाको अनुमतिमा मात्र शीर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।
त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया शुरू गर्ने, नगरपालिकालाई आवश्यक ऐन, कानुन बनाएपछि अनुमोदन गराउने गरी लागू गर्ने, आउँदो आर्थिक वर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने, बालमैत्री नगरपालिका घोषणा गर्न बाँकी रहेका वडाको कार्य प्रारम्भ गर्ने, हेरफेर भएका करका दर स्वीकृत गर्ने निर्णय भएको छ ।
आउँदो आर्थिक वर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने, कर्मचारीको तलबी प्रतिवेदन पास गरी तलब भत्ता खुवाउने, कर्मचारीको दरबन्दी पुनरावलोकन गर्ने, नियमित गर्नुपर्ने बेरुजु नियमित गर्ने लगायतका प्रस्ताव पारित गरिएको वनले बताए । रासस















प्रतिक्रिया