७ कार्तिक २०८३, शनिबार

नेपाल पक्षलाई भोलिको स्थायी कमिटीमा सहभागी गराउन संस्थापनको कसरत जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेकपा एमालेलाई २ जेठ २०७५ को अवस्थामा फर्काएसँगै पहिलोपटक भोलि शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा असन्तुष्ट पक्ष (माधव–झलनाथ समूह)लाई पनि सहभागी गराउन संस्थापन पक्षले कसरत जारी राखेको छ ।

भोलिको केन्द्रीय कमिटी बैठकमा माधव–झलनाथ पक्षलाई पनि सहभागी गराउन दुवै पक्षका नेताहरु आज पनि बिहानैदेखि छलफलमा जुटिरहेका छन् । हिजो बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ ।

बुधबार राति अबेरसम्म एमालेका दोस्रो तहका नेताबीच छलफल भए पनि केही विषयमा सहमति हुन सकेको छैन । बुधबारदेखिनै संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल र नेताहरु सुवास नेम्वाङ तथा शंकर पोखरेल निरन्तर वार्तामा जुटिरहेका छन् । सो वार्ता तथा छलफलमा नेपाल पक्षका उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र नेता सुरेन्द्र पाण्डे सहभागी हुँदै आएका छन् ।

पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काएको भए पनि जेठ २ अघिको एमालेको मात्र बैठक बस्नुपर्ने माग नेपाल पक्षको छ । त्यस्तै अदालतमा एमालेका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर, केपी ओली नेतृत्वको सरकार जोगाउने कि फाल्नेलगायत विषयमा पनि दुई पक्षबीच सहमति जुट्न सकेको छैन ।

यद्यपि, पार्टीलाई पुरानै अवस्थामा फर्काएर संस्थापन पक्षले लचकता देखाएसँगै थप बखेडा झिक्नु आवश्यक नरहेको टिप्पणी समेत हुन थालेको छ ।