शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

बेलायतमा एक सातामा झन्डै ७० प्रतिशतले संक्रमणमा वृद्धि

दैनिक नेपाल २०७८ असार १५ गते ७:५४

बेलायत, १५ असार । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो ।

कोरोना संक्रमणका कारण एकैदिन झन्डै २३ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या गत जनवरी ३० तारिख पछिको सबैभन्दा बढी हो । एक साताभित्र ६९ दशमलव ९ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४७ लाख ५५ हजार ७८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३ जनाको मात्र मृत्यु भएको छ । संक्रमण दरमा वृद्धि भएपनि मृतक संख्यामा भने खासै फरक परेको छैन । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार १०३ पुगेको छ ।

बेलायतमा ७ करोड ७० लाख भन्दा बढी खोप वितरण

बेलायतमा ७ करोड ७० लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुन २८ सम्मको तथ्यांक अनुसार यहाँ ६१ दशमलव ९ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८४ दशमलव ४ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ७० लाख ३८ हजार २५७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ४४ लाख ५४ हजार ५११ जनाले पहिलो र तीन करोड २५ लाख ८३ हजार ७१६ जनाले दोस्रो डोज लगाएका रातोपाटी डटकमले लेखेको छ ।

प्रतिक्रिया
सम्बन्धित