भावको स्वरुप नयनबाट प्रस्फुटित हुने रहेछ । त्यो भाव बुझ्नको लागि चेतना र आत्मिक अन्तर्यमा क्षमता हुनुपर्ने रहेछ । लाग्दछ, नयनबाट बाहिरी वातावरण मात्र नियाल्न सकिन्छ । त्यहि नयनको माधुर्यतालाई बुझन नसक्दा अन्तत जीवन निरर्थक हुनेरहेछ । आम विषय यहि रहेछ ।
अनुहार हेरेर व्यक्तिको अवस्था बुझ्न सकिन्छ भन्ने कुरामा सामिप्यता खोज्न सकिन्छ, तर त्यो अनुहार भित्रका अंगहरूमध्ये नयनको माधुर्यता प्रधान बन्ने रहेछ । भावावेश, क्रोध, खुशी, आँशु, चञ्चल आदित्यको भावावेश अनुहारमा देख्न सकिने भएता पनि यी सबै साधन मात्र रहेछन । बाहिरी देखापनमा देखिने नयन सारमा समान देखिएता पनि त्यसले बोल्ने अर्थमा विविधता पाउन सकिन्छ, फरक यत्ति हो कि कोही त्यो नयनको माधुर्यतालाई नियाल्ने प्रयास गर्दछन् त कोही अर्थविहीनतामा, केवल बाहिरी आवरणमा ।
सुन्दरता केवल वाहिरी आवरणमा खोज्नेहरुले माधुर्यताको महत्व वुझने हिम्मत गर्दैनन । अधिकत्वमा सोँचमा एकरुपता भएता पनि त्यसको बुझाइमा विविधताहरूको संख्या न्यून रहेको हुन्छ । देखिने जीवन र भोगिने जीवनमा हृदयको दुरदृष्टिबाट हेर्ने दृष्टिकोणले यथार्थवोधको समिप पुगेको हुन्छ । सम्वन्ध अजर र अमरका वीचमा माधुर्यताको विशिष्ट योगदान रहेको हुन्छ । यसैको सामिप्यतामा जीवन खोज्नेहरू नै यसका प्रतीक हुन् । जुन कमैमा मात्र नियाल्न सकिन्छ ।
वोधको तत्वज्ञान हुनु समान्य होइन, तरलतामा बग्नेहरूले गहिराइको मापन गर्ने हिम्मत गर्दैनन्, यो सबै मिथ्या लाग्दछ । एकान्ततामा नै जीवन खोज्नेहरूले यसको रहस्य बोधमा आंशिकता प्राप्त गर्दछन् । पलपलमा हुने तत्ववोधले बाहिरी जीवनमा धर्मराएता पनि यथार्थतामा त्यो सत्यको नजिक रहेको हुन्छ । ईतिहासलाई नजिकबाट नियाल्ने हो भने नयनभित्रको माधुर्यतामा जीवन अर्पण गर्नेहरूले नै विशिष्टता हासिल गरेको पाइन्छ । भौतिक दुःखलाई विश्वासको सम्वन्धले छाँयामा पारेको हुन्छ । विश्वास शव्द आम व्यक्तिको लागि समान्य भएता पनि यसको विशिष्टता विशाल रहेको हुन्छ । यहि विश्वासका कडीमा जीवन अर्पण गर्नेहरूको नयनमा देख्न सकिनेछ, जीवनको माधुर्यता । उसको सोँचमा देख्न सकिनेछ, अनुपमता । त्यहि विश्वासको जञ्जीरमा बाँधिनेहरूले नै बनाएको हो जीवनको माधुर्यता । यसैको वरिपरि नै जीवन घुमिरहेको हुन्छ ।
मस्तिष्क र हृदयको समागमबाट कम्पित विचार नजरबाट प्रस्फुटित हुन्छ । लाग्दछ, यो सबै समान हुन् । यसभित्रको विविधता बुझ्न समान्य चेतना र मस्तिष्कवाट सम्भव छैन । यदि हुँदो हो त यो समाज यति धेरै स्वार्थी र निर्मम हुने थिएन । इतिहाँस र भविश्यलाई बुझ्ने कोशिश गर्न नसक्नेहरू घमण्डको भकुण्डोमा डुवुल्की मारेका हुन्छन् । लाग्दछ म नै सर्वेसर्वा र शक्तिशाली हुँ, त्यहि दम्भभित्रको सूचकहरू आजको सन्दर्भमा पाइला–पाइलामा भेटिनेछन् । हराएका सपनाहरूलाई खोज्ने दुस्साहस सपनामा सहज भएता पनि यथार्थतामा धेरै कठिन हुन्छ भन्नेहरूले समाज नै धुमिल बनाइरहेका छन् । त्यहि धुमिल समाजका अंग बनेर हामी सृष्टिका निरन्तरताका सारथी बनिरहेका छौं । परिवर्तन आफैमा साध्य हो, यो नै सत्य हो, यद्यापि यति धेरै सत्यपनि स्वीकार्न नसक्नेहरू गाम्भिर्यताका पर्याय हुन सक्दैनन् ।
भौतिकतामा नै जीवन खोज्नेहरू जीवनका उत्तरार्धमा भोगिएका कठिनाई भोग्नुको विकल्प हुन सक्दैनन् । जसलाई आत्मासात निश्चित समयमा गर्न सक्दैनन् । यहि नै मानव जातिको सबैभन्दा ठूलो कमजोरी हो । यहि कमजोरीलाई ढाक्न प्रयत्न गर्दा गर्दा नेटो काटेको पत्तो नै हुँदैन ।
पिँढीको डिलमा चल्मलाउँदै जीवन मुक्तिका प्रार्थना गर्नेहरू सोँच्दा होलान्, आज आफ्नै आँगन पनि बिरानो भयो । आफैमा समेत विश्वास हराउँदा, सन्तान पाउँदा संसार नै जित्नेहरूले त्यो ताते बोलेको बालक देखेर सोँच्ने चेतनामा के विजारोपण भयो होला ? जब सोँचको विविधतालाई आत्मासात गर्न सकिदैन, त्यसले दिने परिणाम भनेको अन्तत हृदयङ्गम नै हुनेछ । पोलको हृदयमा मल्हम लगाउने अस्त्र त्यो बेलामा भौतिक सम्पति कदापि बन्न सक्दैन । साधनभित्रको एउटा अंश प्राप्तिका लागि गरिने हत्कण्डा अन्ततः नतमस्तक बिष शिवाय अन्य हुन सक्दैन । त्यहि अनदेख बिषको प्राप्तिमा दिनरात दौडिनेहरूको भीडमा अलग राख्न नसक्नु नै सबैभन्दा ठूलो कमजोरी रहेछ । त्यहि कमजोरीको अस्त्रलाई नै हामी जीवनका मूल अस्त्र सम्झेर भौतारिरहेका छौ ।
गला लोदिएर आँखाको परेलाले त्यो कमजोर नयनलाई ढाक्न प्रयत्न गरिरहेका छन् । त्यो छोपिएको नयनको माधुर्यतामा सम्पूर्ण जीवन खोज्ने दुस्साहस कमैले गर्लान् । भौतिकतामा नयनले दृष्टिगोचर गरेता पनि नयनको त्यो भावले जीवनभित्रको जीवन खोज्ने चेष्टा गरेको कमैले मात्र भेउ पाँउछन् । हृदयको चाहना मस्तिष्कबाट निर्देशित भएर अनुहारबाट प्रकट भएता पनि त्यसको मुख्य केन्द्र भने नयनको त्यो माधुर्यता नै रहेको हुन्छ, यो आफैमा बालक, वयस्क भएता पनि यसको भाव भनेको त्यसैमा केन्द्रित रहेको हुन्छ । जसलाई कमैले मात्र बुझ्दछन् ।
लाग्दछ, हृदयको त्यो विशालताले माधुर्यताको महत्ववोध गरोस्, त्यो शव्द र व्यवहारबाट उजागर होस्, त्यहि शव्द र व्यवहार समेत आफन्तबाटै टाढा भएपछि अन्तसंस्करण रुनुको विकल्प छैन । जुन नयनमार्फत आँशुका माध्यामबाट धर्तीमा विलिन हुन्छ, आँशु आफैमा तरल पदार्थ मात्र होइन, यथार्थताको सूचक हुन्, जुन माधुर्यता हो, नयनको माधुर्यता, जीवनको माधुर्यता । जसलाई आम व्यक्तिले पढ्ने ल्याकत राख्दैनन् । स्वचालित शरीरका अंगले जसरी जुनसुकै समयमा पनि कर्मशील भइरहँदा त्यसैका पर्याय हामी कति रह्यौँ ? त्यो सायद चेतना र हृदयको गर्भमा नै रहला…।














प्रतिक्रिया