३० आश्विन २०८३, शुक्रबार

कांग्रेसभित्र अप्ठेरोमा पौडेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्‍यो । मलाई शेरबहादुर (शेरबहादुर देउवा) जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’

२०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार निकटहरूसँग १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्दै राखेको धारणा हो यो । पार्टीका विभिन्न तह हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका पौडेलले प्रतिनिधिसभाको सभामुख र मुलुकको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । संसदीय दलको नेता बनेका पौडेल प्रधानमन्त्रीको उम्मेदवार बने पनि प्रधानमन्त्री भने बन्न सकेका छैनन् । कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै उनी १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार पनि बने तर निकटहरू मिलाउन नसक्दा जित निकाल्न असफल भए ।

१३औं महाधिवेशनमा शेरबहादुर देउवासँग नेतृत्वमा पराजित पौडेलले १४औंबाट नेतृत्वमा पुग्ने आकांक्षासहित निकटहरूसँग सहयोगको हात बढाएका हुन्, त्यो पनि आफ्ना राजनीतिक समकक्षीसमेत रहेका सभापति देउवाले १४औं महाधिवेशनमा नेतृत्व दौड थालेलगत्तै । १३औं महाधिवेशनमा निकटहरू मिलाउन नसक्दा नेतृत्वमा पुग्न चुकेका पौडेललाई १४औं महाधिवेशनमा सबैलाई विश्वासमा लिएर उम्मेदवार बन्न झनै कठिन देखिएको छ, जसको संकेत शुक्रबार उनै पौडेलद्वारा आयोजित भेलाले दिएको छ । राजनीतिक जीवनको उत्तराद्र्धमा आइपुगेका पौडेललाई निकटहरूले आगामी महाधिवेशनमा नेतृत्वका लागि अघि बढ्न सुझाएनन् । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालाले मात्र होइन, रामशरण महत, अर्जुननरसिंह केसी र सुजाता कोइरालाले आफैं मैदानमा खडा हुने भन्दै पौडेललाई प्रतिस्पर्धा नगर्न सुझाए । त्यति मात्र होइन, पार्टीभित्र युवा भनिएका पहिलो र दोस्रो तहका नेताहरूले एउटै साझा उम्मेदवार नदिए आफैं नेतृत्वको प्रतिस्पर्धामा उत्रिने दाबी गरे ।

कोइराला परिवारबाट महामन्त्री शशांक र नेता शेखर एकअर्का नै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । नेता पौडेल मात्रै होइनन्, भाइ शशांकलाई पनि नेतृत्व प्रतिस्पर्धामा नछाड्नेगरी तयारी थालेका शेखर आगामी महाधिवेशनमा कुनै हालतमा सभापतिको उम्मेदवारी दिने पक्षमा छन् । शशांकले पनि उम्मेदवार बन्ने बताइरहँदा कोइराला परिवारबाटै कांग्रेस सभापतिका लागि दुई उम्मेदवार हुने त होइन भन्ने आशंका उब्जिरहेका बेला पार्टीका शीर्ष नेता पौडेललाई संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्ने कुरा निकै कठिन रहेको निकटहरू बताउँछन् ।

अझ देउवाबाट नचलेको पार्टी अब पौडेलबाट पनि चल्न सक्दैन भन्दै पूर्वमहामन्त्री सिंह पनि नेतृत्वको दौडमा खुलेर उत्रिँदा पौडेल थप अप्ठेरोमा परेका छन् । नेता तथा कार्यकर्ताले देउवा र पौडेलको विकल्प खोजिरहेको बताउँदै सिंहले शुक्रबारको भेलामा भनेका थिए, ‘मान्छेहरू भन्छन्– शेरबहादुर देउवाजीबाट पार्टी चलेन । रामचन्द्र दाइबाट पनि चल्दैन । म नेविसंघबाट राजनीति गरेर आएको हुँ । म लिगेसीबाट मात्र आएको होइन । त्यसैले मलाई सबैले सहयोग गर्नुपर्‍यो ।’ त्यति मात्र होइन, पूर्वसहमहामन्त्रीसमेत रहेका केसीले ६० वर्षमुनिकालाई पार्टी नेतृत्व दिनुपर्ने भन्दै सहमतिबाट एउटा मात्र उम्मेदवार दिन नसके नेतृत्व प्रतिस्पर्धामा रहेका सबै नेता सल्लाहकार बस्नुपर्ने तर्क गरे । सबै नेतृत्वको प्रतिस्पर्धामा उत्रिने भनेको आत्महत्या गर्नुजस्तो हुने उनको तर्क थियो ।

‘वर्तमान सभापति शेरबहादुर देउवाले फेरि नेतृत्वको प्रतिस्पर्धा गर्छु भनिरहेका बेला हामीले उहाँ (रामचन्द्र पौडेल) लाई उम्मेदवार बन्न पाउनुहुन्न भनेका छैनौं,’ केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पौडेल दाइले सबैलाई मिलाएर जान सके ठीक छ । उहाँले त्यसमा क्षमता देखाउनुपर्‍यो । त्यो भएन भने उहाँले मैदान छाड्नुपर्छ ।’

आफ्नो नाममा सहमति जुटाउन नसके अभिभावक भएर अन्य प्रतिस्पर्धीमध्येबाट एउटालाई सभापतिको उम्मेदवार तोकेर अघि बढ्नसक्नुपर्ने भन्दै उनले भने, ‘त्यो पनि भएन आफूहरूले एउटा उम्मेदवार छनोट गर्ने वा युवाहरू नै नेतृत्वका लागि अघि बढ्छौं । त्यसको सम्पूर्ण तयारीमा हामी छौं ।’ केन्द्रीय सदस्य चन्द्र भण्डारी र गगनकुमार थापामध्ये एकलाई मैदान उतार्ने भन्दै उनीहरूले सहमतिबाट साझा उम्मेदवार तय गर्न नेता पौडेललाई सुझाए । संस्थापन पक्षमा भएका नेतालाई समेत आफ्नो पक्षमा नल्याई नेतृत्वमा पुग्न कठिन रहेका बेला आफ्नै पक्षमा सहमति जुटाएर उम्मेदवार बन्ने कुरा पौडेलका लागि थप चुनौतीपूर्ण देखिएको छ ।

२०४८ सालपछि कांग्रेसमा रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवालाई आरएसएस भनिन्थ्यो, जसलाई दोस्रो पुस्तामा कांग्रेस हाँक्ने नेताका रूपमा गनिन्थ्यो । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारमा गृहमन्त्री रहेका देउवाले कोइराला परिवारलाई चुनौती दिएर प्रधानमन्त्री बने । र, पार्टी विभाजन गरेर देउवाले छुट्टै पार्टी मात्र गठन गरेनन्, विभाजित पार्टीलाई एकीकरण गरेका उनी अहिले पार्टी सभापति छन् । ‘पौडेलले न कोइराला परिवारसँग देउवाले जस्तो विद्रोह गर्ने आँट गरे, न त विश्वासपात्र नै बन्न सके,’ पौडेलनिकट एक नेताले भने, ‘विगतदेखि अहिलेसम्म हेर्दा उहाँ कोइराला परिवारसँग जोडिरहनुभएको छ । तर, कोइराला परिवारले पौडेललाई विश्वास गरेजस्तो देखिँदैन । त्यसले गर्दा आगामी दिन अझै चुनौतीपूर्ण छ ।’

ती नेताको बुझाइमा नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग निकट मानिने नेता पौडेललाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग नमिलेर पार्टी फुटाउन हिँडेको आरोप लाग्ने गरेको छ । विभाजित पार्टीको सभापति बन्ने अन्तिम तयारीमा रहेका पौडेललाई नेत्री शैलजा आचार्यले मूल पार्टीमै राख्ने भूमिका खेलेकी थिइन् । जसले गर्दा देउवासहित पार्टी विभाजनको पक्षमा रहेको पक्ष पनि पौडेलबाट धोका पाएको भन्दै रुष्ट बन्यो भने गिरिजाप्रसादले पनि उनलाई सँगै त राखे तर पूर्ण रूपमा विश्वास गरेनन् । त्यसको कारण पार्टी विभाजन गरेर जान लागेको मात्र होइन, होलेरी काण्डपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीबाट राजीनामा गर्ने तयारीमा थिए । तर, उनलाई प्रधानमन्त्रीबाट हटाउने दरबारिया षड्यन्त्रमा जानीनजानी उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका पौडेलले राजीनामा गरेको बताइन्छ । नागरिक दैनिकमा बालकृष्ण अधिकारीले समाचार लेखेका छन् ।