बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

तनहुँको घिरिङ गाउँपालिकामा हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

दैनिक नेपाल २०७८ असार ९ गते १४:२३

सांकेतिक तस्वीर

तनहुँ, ९ असार । तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

नेपालको संविधानले हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने कुरालाई आत्मसात् गरेकाले गाउँपालिकाले त्यसलाई कार्यान्वयन गर्न लागेको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गरी स्थानीय स्वास्थ्य सेवा ऐन, स्थानीय स्वास्थ्य सेवा नियमावली र स्थानीय स्वास्थ्य नीतिसमेत निर्माण गरी सोही बमोजिमको कार्य अगाडि बढाइनेछ ।

गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट गाउँपालिका पनि अछुतो छैन ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न हाल सञ्चालनमा रहिरहेको दश श्ययाको कोभिड अस्थायी अस्पताललाई स्तरोन्नति गरी २० श्ययाका रुपमा विकास गरिने रानाले बताए ।

हरेक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप घिरिङमा दश श्ययाको अस्पताल आगामी आर्थिक वर्षबाट नै स्थापना गरी सञ्चालन गर्ने नीति लिइएको छ ।

साथै दश श्ययाको आधारभूत अस्पताल स्थापना गर्नका लागि आवश्यक जग्गा व्यवस्थापन र डिपिआर समेतका लागि बजेट विनियोजन गरिने रानाले जानकारी दिए । –रासस

प्रतिक्रिया
सम्बन्धित