बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वागत लिँदालिँदै मन्त्रीबाट पदमुक्त

दैनिक नेपाल २०७८ असार ९ गते ७:३०

काठमाडौं, ९ असार । मन्त्री नियुक्त भएको तीन सातापछि गृहजिल्ला आएका झालाई लिन कार्यकर्ताहरू गाडीको लाइन लगाएर पुगेका थिए । रौतहट–बारा सीमाको धन्सार पुलबाट भारतीय नम्बर प्लेटका भाडाका गाडी लाइन लगाएर उनलाई गौरस्थित होटल सिया प्यालेससम्म पुर्‍याए । त्यहाँ गाडी पार्किङ गर्न हम्मेहम्मे पर्‍यो ।

जारी निषेधाज्ञाको बेवास्ता गर्दै सयौं गाडीको लाइनसँगै बाटोमा कार्यकर्ता र शुभचिन्तकले स्वागतसमेत गरे । गौरस्थित होटल सिया प्यालेसमा मंगलबार दिउँसो स्वागत कार्यक्रम सकिन नपाउँदै सर्वोच्च अदालतले गत जेठ २१ र २९ मा भएको मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गरेको खबर आयो ।

स्वागत कार्यक्रममै उक्त खबर सुनेका कतिपय कार्यकर्ताले पत्याएनन् । धेरैले संघीय राजधानी काठमाडौंमा रहेका नेता, कार्यकर्ता र आफन्तलाई फोन गरे । यकिन भएलगत्तै पदमुक्त मन्त्री झा कार्यक्रम छोट्याएर तत्कालै राजधानी फर्किए । आउँदा सयौंको लावालस्कर लागेका उनका कार्यकर्ता मन्त्री पदमुक्त भएपछि एकएक गरेर फर्किएका थिए । कार्यक्रमस्थलबाट फर्कने बेलामा झाको लस्करमा सुरक्षाकर्मीको स्कर्टिङबाहेक अरू गाडी थिएनन् । ‘कार्यक्रम नसकिँदै सर्वोच्चले पदमुक्तको आदेश दिएको हल्ला आयो,’ कार्यक्रममा सहभागी जसपा कार्यकर्ता सरोज यादवले भने, ‘एकैछिन त के गर्ने कसो गर्ने भयो ।’

नियुक्ति बदर भएका २० मन्त्रीमध्ये झा जनता समाजवादी पार्टीको ठाकुर समूहका हुन् । जसपा केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका मेयर अजय गुप्ताले मंगलबार स्वागत कार्यक्रम सकिन लाग्दा मन्त्री पदमुक्त भएको खबर आएको सुनाए । झाको स्वागतमा गाडीहरूको भीड बोलाएर नभई कार्यकर्ताहरू स्वस्फूर्त आएको उनले दाबी गरे ।

मन्त्री भएर आएका नेताको स्वागतका लागि रौतहटमा भारतीय गाडी मगाएरसमेत प्रदर्शन गर्ने ‘परम्परा’ जस्तै छ । बृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादव मन्त्रीको नभई पावरको पछि लागेर मानिसहरू स्वागतमा जाने गरेको बताउँछन् । झा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रौतहट १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी पटकपटक मन्त्री भइसकेका छन् ।

प्रदेश २ मा राज्यमन्त्री रहेकी उनकी श्रीमती डिम्पल झालाई मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि राज्यमन्त्रीबाट हटाएका थिए । मंगलबार दिउँसो पदमुक्त नहुँदै मन्त्री झालाई गरुडा नगरपालिकामा कालोझन्डा देखाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा समेत लिएको थियो । शिव पुरीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित