बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दार्चुला-टिंकर सडक खन्न भारतीय समन्वय खोजिँदै

दैनिक नेपाल २०७८ असार ८ गते ७:२६

काठमाडौं, ८ असार । भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक सडक बनाइरहेका बेला नेपालले भने सेनामार्फत आफ्नै भूमिमा निर्माण गर्न लागिएको दार्चुला–टिंकर ‘रणनीतिक सडक’ का लागि भारतको समन्वय खोजी गरेको छ ।

भारतले सडक खन्नेक्रममा आफूलाई आवतजावत र ढुवानी गर्न सहज होस् भनेर दुई वर्षअघि नेपाली भूमि ब्यास गाउँपालिका–२ स्थित बयलीधार क्षेत्रमा बनाएको पहुँच मार्ग (बायाँ) र महाकाली पारि भारतले सडक बनाउन फोड्दै गरेको चट्टानी पहाड (दायाँ) । फाइल तस्बिर : मनोज बडु/कान्तिपुर
नेपालले आफ्नो राष्ट्रहितअनुसार रणनीतिक महत्त्वको सडक बनाउन सक्ने भए पनि दार्चुला–टिंकरमा भारततर्फ समस्या पर्न सक्ने भन्दै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक समन्वयका लागि पहल गर्न आग्रह गरेको छ । भारतले भने यस्तै रणनीतिक महत्त्वको सडक बनाउँदा समन्वयको खोजी त परै जाओस्, नेपालले गरेका पत्राचारको समेत बेवास्ता गर्दै आएको छ ।

महाकाली लोकमार्गअन्तर्गत दार्चुलाको व्यास गाउँपालिका–२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका टिंकरसम्मको ८७ किमि प्रस्तावित रणनीतिक सडकमध्ये ५५ किमि महाकाली नदी वारि पर्छ । कोठेधारदेखि महाकाली नदी किनार र कतै भित्री क्षेत्र हुँदै बनाइने सडकले व्यास गाउँपालिका–१, छाङरु (गागा) स्थित नेपाल–भारत सीमाको सीतापुल वारिसम्म जोड्छ । नेपालतर्फ सडक निर्माण गर्दा भारतलाई असर पुग्ने अनुमानमा उसको भूमिका खोजिएको हो ।

गृह मन्त्रालयले ‘कोठेधारदेखि टिंकरसम्मको सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नदी किनारका दुवैतर्फका बाटो अवरोध हुने’ अनुमान गर्दै असार १ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर दुवै देशका प्रतिनिधिबीच कूटनीतिक समन्वयका लागि पहल गर्न भनेको हो । पत्रमा कुन किसिमको समन्वय गर्ने भन्ने उल्लेख छैन । महाकाली नदीबाट नेपालतर्फ कति उचाइमा बाटो खन्ने, पारिपट्टि भारतको सडकभन्दा तल वा माथि कुन तहमा निर्माण गर्ने, नेपाली सेनाको स्वविवेकमा चट्टान फोर्न पाउने/नपाउने जस्ता विषयमा भारतले व्यवधान खडा गर्ने अनुमान गरिएको छ ।

यस विषयमा सेनाले भने अनभिज्ञता जनाएको छ । सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले सरकारबाट प्राप्त जिम्मेवारीअनुसार उक्त क्षेत्रको सडक निर्माण आर्थिक वर्ष २०७८/७९ बाट अघि बढाउन लागिएको जानकारी दिँदै अरू विषय आफूहरूलाई जानकारीमा नआएको प्रतिक्रिया दिए । उनले काठेधारदेखि टिंकरसम्म १० मिटर चौडा रहने गरी ट्र्याक खोल्ने काम सुरु गर्न लागिएको बताए । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया
सम्बन्धित