शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

दैनिक नेपाल २०७८ असार ७ गते ७:३३

काठमाडौं, ७ असार । कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए।

सोमबारदेखि बेलायतका हरेक व्यवसाय र जनजीवन पुरानै लयमा फर्कने अपेक्षा थियो। तर बेलायतको प्रधानमन्त्री बोरिस जोन्सनलेले जुन १४ मा आम नागरिकको अपेक्षाविपरीत नयाँ घोषणा गरे। कोरोना संक्रमितको संख्या, अस्पतालमा भर्ना हुने र सघन उपचार कक्षमा उपचार गर्नुपर्ने बिरामीको चाप बढेपछि उनले पूर्ण रूपमा लकडाउन खुला नगर्ने संकेत गर्दै भने, ‘यो मेसिन (एक्सलेरेटर) को गतिलाई अलि कम गर्ने समय हो।’

जर्मनी, फ्रान्स तथा आयरल्यान्डलगायत अन्य युरोपेली राष्ट्रले बेलायती यात्रुलाई कडा प्रतिबन्ध लगाइसकेका छन्। यी सबैको कारण डेल्टा नामक भाइरसको नयाँ भेरियन्ट हो। यसअघि बि.१.६१७.२ नामांकन गरिएको र भारतमा फेब्रुअरीमा पहिलोपटक पत्ता लागेको यही भेरियन्टका कारण गत वसन्त क्रतुमा भारतमा डरलाग्दो महामारी फैलिएको थियो। इकोनोमिस्टले यो वर्ष मात्रै भारतमा १० लाख मानिसको मृत्यु भएको आँकलन गरेको छ। भारत मात्र होइन, डेल्टा भाइरस अन्य देशमा पनि तीव्र रूपमा फैलिएको छ। जिआइएसएड नामक डाटा सेयरिङ अभियानका अनुसार यो भेरियन्ट क्यानडा, इन्डोनेसिया, पाकिस्तान, पोर्चुगल तथा रुसमा सबैभन्दा बढी पाइने भेरियन्ट बनिसकेको छ। भारतमा नयाँ भेरियन्ट देखिएपछि भारतसँगको सम्पर्क तोड्न बेलायतले ढिलाइ गरेको थियो र त्यही कारणले यो भेरियन्ट तीव्र रूपमा फैलिन सजिलो बनेको थियो।

बेलायतमा पत्ता लागेको अल्फा भेरियन्टजस्तै यो भेरियन्ट पनि एकजनाबाट अर्काेमा सर्ने उच्च क्षमता राख्ने भएकाले आम नागरिकमा चिन्ता बढेको हो। बेलायतमा देखिएका कोरोना भाइरसका नयाँ केसहरूमा ९० प्रतिशत डेल्टा भेरियन्टका छन्। बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्ड(पिएचई) को एक अध्ययनअनुसार यो भेरियन्ट कोरोना भाइरसको सुरुको प्रजातिभन्दा २.५ गुणाले छिटो सर्छ भने कोरोना भाइरसको सुरुको प्रजातिभन्दा अल्फा भेरियन्ट १.५ गुणा छिटो सर्छ। यसरी डेल्टा भेरियन्ट ब्राजिलमा पहिलोपटक देखिएको गामा, दक्षिण अफ्रिकामा देखिएका बेटा तथा अमेरिकामा देखिएको इप्सिलनजस्ता अन्य भेरियन्टभन्दा अत्यधिक खतरनाक देखिएको छ।

संक्रमितमा गम्भीर प्रकारका रोग निम्त्याउन पनि डेल्टा भेरियन्टलाई जिम्मेवार मानिएको छ।

प्रयोगशालामा गरिएका परीक्षणका आधारमा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले यसअघि संक्रमित भइसकेका कारण तथा खोपका कारण शरीरमा विकास भएको प्रतिरक्षा प्रणालीलाई यो भेरियन्टले छल्न सक्ने क्षमता राख्छ। बेलायतको पिएचईका अनुसार अल्फा भेरियन्टको तुलनामा डेल्टा भेरियन्टले अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीको संख्यालाई ३२ देखि २८९ प्रतिशतले बढाएको छ।

खोपको प्रभावकारिताको हिसाबले यो भेरियन्ट तुलनात्मक रूपमा कम खतरनाक देखिएको छ। अल्फा भेरियन्टको हकमा फाइजर, बायोएनटेक तथा अस्ट्राजेनकाको पहिलो डोज खोपले लक्षणसहितका बिरामी हुनबाट जोगाउन ५० प्रतिशत सुरक्षा दिएकोमा डेल्टाको हकमा यो सुरक्षा ३३ प्रतिशते देखिएको छ। तर खोपको दुवै डोज लगाएको अवस्थामा अल्फा भेरियन्टविरुद्ध खोपले ८८ प्रतिशत सुरक्षा दिने देखिएकोमा डेल्टाका हकमा यो सुरक्षा ८० प्रतिशत रहेको छ। तर समयसँग खोपको प्रभावकारिता पनि बढ्दै जाने देखिएको छ। यसरी यो भेरियन्टविरुद्ध खोपको प्रभावकारिता कायम रहेकाले गरिब देशमा खोप तल्काल उपलब्ध गराउन पर्ने आवश्यकता देखिएको छ।

उदाहरणका लागि अफगानिस्तामा एन्टिबडी सर्भेले गत अगस्तसम्म एक तिहाइ जनसंख्या संक्रमित भइसकेको देखाएको छ। डेल्टा भेरियन्टका कारण अफगानिस्तानका अस्पतालमा बिरामीको भिड थेगिसक्नु छैन। व्यापक खोप अभियानले भाइरसका खतरनाक भेरियन्ट विकास हुने सम्भावनालाई रोक्न सक्छ। नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया
सम्बन्धित