बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बाढीले समृद्धिको सपना चकनाचुर

दैनिक नेपाल २०७८ असार ६ गते ८:४९

काठमाडौं, ६ असार । सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्‍याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।

तल्लो तटीय क्षेत्रको झन्डै २५ किलोमिटर दूरीसम्म व्यापक क्षति पुर्‍याउनेगरी मंगलबार मेलम्ची खोलामा हेलम्बु भएर बाढी आएको थियो। बाढीले मेलम्चीमा पुर्‍याएको क्षति तत्काल बाहिर आए पनि सडक र सञ्चार सम्पर्क टुटेको हेलम्बुमा बाढीले पुर्‍याएको क्षति सुरुमा बाहिर आउन सकेन। ‘बाढीले हेलम्बुमा पनि अकल्पनीय क्षति पुर्‍याएको छ,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने। हेलम्बुमा राहत लिएर हेलिकोप्टर पुग्न थालेसँगै पाँच दिनपछि त्यहाँ बाढीले पुर्‍याएको क्षति बिस्तारै बाहिर आउन थालेको हो। सञ्चार सम्पर्क टुट्नुका साथै पुलपुलेसा बाढीमा बगेपछि स्थानीय सरकारका प्रमुख शेर्पा नै गाउँमा थुनिएर बस्न बाध्य भए।

बाढीमा बेपत्ता सबै हेलम्बुबाटै हराएका हुन्। हराइरहेका २३ जना अझै बेपत्ता छन्। बेपत्ता हुने १२ भन्दा बढी हेलम्बुकै हुन्। हेलम्बुकै मेलम्ची खानेपानीको मुहान अम्बाथानबाट आठ कामदार बेपत्ता भएका थिए। उनीहरू अझै हराइरहेका छन्। बेपत्ताको खोजी भइरहेको छ।

अध्यक्ष शेर्पाका अनुसार तीन पक्की र ६ झोलुंगे पुल बाढीसँगै बगेका छन्। मेलम्ची–हेलम्बु सडकखण्डको हेलम्बु क्षेत्रभित्र रहेका चारमध्ये रातो पुल मात्र बाँकी छ। यो पुल पनि धेरै जोखिममा छ। तिम्बु, दङतोम्बा र चोक्पुका पक्की पुल बगेका छन्। त्यस्तै सर्कथली, च्याम्भेदो, ग्याल्थुम तोरीधारा, चनौटे, चालिसे च्युरीखर्क र थापाटारका झोलुंगे पुलसमेत बगेका छन्। ‘प्रमुख सडकको पक्की र मुख्य बस्ती जोड्ने झोलुंगे पुल बगेपछि स्थानीय नाकाबन्दीमा छन्। उनीहरू गाउँभित्रै थुनिएका छन्,’ गाउँपालिका अध्यक्ष शेर्पाले भने।

बाढीले आधा दर्जन बस्ती प्रभावित भएका छन्। झन्डै डेढ सय घर बगाएको गाउँपालिकाले जनाएको छ। च्युरीखर्क, हल्दे, तिम्बु र अम्बाथानका २८ घर पशुचौपाया, खाद्यान्नसहित बगेका छन्। पुरानो चनौटे बजार, गणेशेबगर, किउलसम्मका बस्ती तथा घर आंशिक र पूर्ण क्षति हुँदा १ सय १३ परिवार विस्थापित भएका छन्। भण्डारीसिमका तीन घर पनि बगेका छन्। जोखिममा रहेको इलाका प्रहरी कार्यालयको भवन शनिबारको बाढीसँगै बगेको गाउँपालिका प्रमुख प्रशासकीयक अधिकृत विष्णुहरि तिमेल्सेनाले जानकारी दिए।

जोखिम बढेपछि प्रहरीले मंगलबारै भवन छाडेका थिए। उनका अनुसार चनौटे बजारका २५ व्यापारिक पसल बगेका छन्।

बाढीले विकास पूर्वाधारमा क्षति पुर्‍याउँदा हेलम्बु पनि १०औं वर्ष पछाडि धकेलिएको अध्यक्ष शेर्पाको भनाइ छ। ‘१०औं वर्ष प्रयास गर्दा पनि यो क्षति पूर्ति हुन गाह्रो होला,’ उनले भने। बाढीले मुख्य तथा सहायक खण्ड गरी साढे सात किलोमिटर सडक बगाएको उनले बताए। मेलम्ची–तिम्बु–हेलम्बु खण्डको तीन ठाउँमा गरी साढे ६ किलोमिटर सडक बाढीले कटान गरेर बगर बनाएको छ। इचोक जाने एक किमी सडक बाढीले कटान गरेर क्षतविक्षत पारेको छ।

बाढीले गाउँपालिकाभित्रका आठवटा व्यावसायिक ट्राउट माछा फार्म बगाएको गाउँपालिकाले जनाएको छ। ती फार्ममा व्यवसायीको करोडौं लगानी थियो। पछिल्लो समय हेलम्बु ट्राउट माछा हबका रूपमा विकसित हुँदै थियो। बाढीले हेलम्बुवासीको समृद्धिको सपना चकनाचुर बनाएको अध्यक्ष शेर्पा बताउँछन्। ध्रुव दङ्गालले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित