शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सहरी विकासमा ३ वर्षमा ७ मन्त्री

दैनिक नेपाल २०७८ असार ६ गते ८:४०

काठमाडौं, ६ असार । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्।

सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो। २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय उनी आफैंले राखे। २०७५ जेठ १८ मा तत्कालीन समाजवादीका नेता इस्तियाक राईलाई सो मन्त्रालयको जिम्मेवार दिइयो। १८ महिनापछि २०७६ पुसमा राईले राजीनामा दिएपछि गोकुल बाँस्कोटा सहरी विकासमन्त्री भए।

बाँस्कोटाले २०७६ फागुन ८ गते राजीनामा दिएपछि वसन्त नेम्वाङ उक्त मन्त्रालयको जिम्मेवारीमा आए। नेम्वाङपछि कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री भए। त्यसपछि २०७७ असोजमा प्रभु साहले उक्त मन्त्रालयको जिम्मा लिए।

हाल राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय सम्हालिरहेका छन्। ओलीलाई समेत जोड्दा तीन वर्ष चार महिनाको अन्तरालमा सहरी विकासमा सातपटक मन्त्री फेरिएका छन्।

चाँडोचाँडो मन्त्री फेरेर प्रधानमन्त्री ओलीले सहरी विकासजस्तो महत्वपूर्ण मन्त्रालयलाई अस्थिर बनाउन खोजेको पूर्वसहरी विकासमन्त्री राईले आरोप लगाए। ‘मन्त्रालय बुझ्नै समय लाग्छ। मन्त्रालय बुझ्न थाल्दा मन्त्री फेरिएपछि के काम हुन सक्छ ?’ उनले भने। पूर्वसहरी विकास सचिव मधुसूदन अधिकारीले आफ्नो १५ महिने कार्यकालमा चार पटकसम्म मन्त्री फेरिएको सुनाए। ‘सहरी विकासमा झन्डै १५ महिना सचिव भई काम गरें। सो अवधिमा इस्तिायक राई, गोकुल बाँस्कोटा, वसन्त नेम्वाङ र कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री हुनुभयो,’ उनले भने।

सहरी विकासपछि धेरैपटक मन्त्री फेरिएको मन्त्रालय स्वास्थ्य तथा जनसंख्या र कानुन तथा न्याय हो। ती मन्त्रालयमा पाँचपाँचपटक मन्त्री फेरिएका छन्। सुरुमा शेरबहादुर तामाङ कानुनमन्त्री भए त्यसपछि भानुभक्त ढकाल। ढकालपछि उपेन्द्र यादवले कानुन मन्त्रालय सम्हाले। यादवले राजीनामा दिएपछि शिवमाया तुम्बाहाम्फे कानुनमन्त्रीका रूपमा आइन्। हाल लीलानाथ श्रेष्ठ कानुनमन्त्री छन्। पद्मा अर्याल सुरुमा स्वास्थ्य राज्यमन्त्री भइन्। २०७५ जेठ १८ मा उपेन्द्र यादव स्वास्थ्यमन्त्री भए। उनीपछि भानुभक्त ढकाल आए भने त्यसपछि हृयदेश त्रिपाठी। हाल शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री छन्।

श्रम तथा रोजगार मन्त्रालयमा पनि चारपटक मन्त्री फेरिएका छन्। श्रम तथा रोजगार मन्त्रालयमा सुरुमा गोकर्ण विष्ट मन्त्री भए। विष्टपछि रामेश्वर राय यादव मन्त्री भए। उनीपछि गौरीशंकर चौधरी श्रममन्त्री भएर आए। हाल सो मन्त्रालयमा विमल श्रीवास्तव छन्। संघीय माामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि चारपटक मन्त्री फेरिए। सुरुमा लालाबाबु पण्डित, पण्डितपछि हृदयेश त्रिपाठी सामान्य प्रशासनमन्त्री भए। त्रिपाठीपछि गणेश ठकुन्ना सामान्य प्रशासन मन्त्री भए भने हाल सो मन्त्रालयमा गणेश पहाडी मन्त्री छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि चारपटक मन्त्री फेरिए। सुरुमा गोकुल बाँस्कोटा सञ्चारमन्त्री भए। बास्कोटा पछि युवराज खतिवडा भए। उनीपछि पार्वत गुरुङ मन्त्री भए। हाल नैनकला थापा सञ्चारमन्त्री छिन्। पर्यटन मन्त्रालयमा चारपटक मन्त्री फेरिएका छन्। सुरुमा रवीन्द्र अधिकारी र त्यसपछि योगेश भट्टराई पर्यटनमन्त्री भए। योगेशपछि भानुभक्त ढकाल पर्यटनमन्त्री भए। हाल त्यहाँ उमाशंकर अरगरैया छन्।

खानेपानीमा तीनपटक मन्त्री फेरिए। सुरुमा बिना मगर र त्यसपछि मणि थापा खानेपानीमन्त्री भए। हाल अनिल झा खानेपानीमन्त्री भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि तीनपटक मन्त्री फेरिए।

सुरुमा वर्षमान पुन ऊर्जामन्त्री थिए भने त्यसपछि टोपबहादुर रायमाझी भए। हाल उक्त मन्त्रालयमा शरतसिंह भण्डारी मन्त्री छन्। यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालमा पनि तीनपटक मन्त्री फेरिए। सुरुमा मातृका यादव, त्यसपछि लेखराज भट्टले सम्हालेको उक्त मन्त्रालयमा हाल राजिकिशोर यादव मन्त्री छन्। भुवन शर्माले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित