बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

अपराधीको संगठित जालोः वारि अपराध पारि ‘सेल्टर’

दैनिक नेपाल २०७८ असार ६ गते ८:२९

काठमाडौं, ६ असार । सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका–५ जिझौलका ३१ वर्षीय सोमनाथ यादवको अपहरण र हत्याको घटनामा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता पुष्टि भएको छ। यादवको अपहरणपछि हत्याको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका सातजना मध्ये भारत प्रहरीको हिरासतमा तीन र नेपाल प्रहरीको हिरासतमा चार जना छन्।

यादवको अपहरणपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका भारत बिहार सुपौल जिल्ला निर्मलीका उमेश यादव, सिरहा बरियारपट्टीका रूपेश भन्ने उपेश यादव, औरही गाउँपालिका–२ का राहुल भन्ने रोहित यादव, बरियारपट्टीका रामविनय यादव सिरहा प्रहरीको हिरासतमा छन्। घटनाको मुख्य योजनाकार ‘नाइके’ सिरहा धनगढीमाई नगरपालिका–५ गोठचोकका ४१ वर्षीय रामकुमार यादव उनका सालो नाता पर्ने भारतीय नागरिक सतिश यादव र रामानन्द यादव सुपौल प्रहरीको हिरासतमा छन्। घटनामा प्रत्यक्ष संलग्न एक भारतीय नागरिक र दुई नेपाली नागरिक फरार रहेको सिरहा प्रहरी प्रमुख एसपी हिरा पाण्डेले बताए।

सोमनाथ यादव धनुषाका धारपानीस्थित नेसनल फाइनान्समा कार्यरत थिए। शुक्रबारका दिन उनी घर आउँथे। आइतबार पुनः कार्यस्थल फर्कन्थे। चैत २७ गते शुक्रबार उनी घर आउँदै थिए। बरियारपट्टी गाउँपालिका–३ स्थित सन्तोष कोल्ड स्टोर्समा नास्ता खाएर घर आउने क्रममा अपहरणमा परे।

बरियारपट्टीबाट अपहरणकारीले उनलाई स्कोर्पियोमा बसाएर भारतीय सहर लदनीया पुर्‍याएर अर्को समूहको जिम्मा लगाए। ‘लदनीयामा यादवलाई अपहरण तथा हत्याका नाइके रामकुमार यादवले रिसिभ गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी पाण्डेले नागरिकसँग भने, ‘रामकुमारले अपहरित यादवलाई सुपौल जिल्लाको निर्मली पुर्‍याएका थिए। त्यहीँबाट उनले अपहरित सोमनाथका बुवा हरिनारायणलाई फोन गरी छोरा छुटाउन ४० लाख फिरौती माग गरेका थिए।’

फिरौती रकम बुझाउन अपहरणकारी समूहले सुरुमा यादव परिवारलाई सीमावर्ती लदनीया बजार बोलाए। यादव परिवार १५ लाख फिरौती रकम झोलामा बोकेर वैशाख ५ मा लदनीया बजार पुग्यो। त्यहाँबाट अपहरणकारीले अझ भित्र पिपराही बजार आउन भन्यो। अपहरणकारीले जहाँ भन्यो यादव परिवार फिरौती रकम लिएर त्यहीँ पुगे। तर, अपहरणकारी समूहले फिरौती बुझेनन्। त्यसपछि अपहरणकारीले सीमा नाका परिवर्तन गर्दै यादव परिवारलाई फिरौती रकम लिएर सिरहाको ठाढी नजिकको लौकाहा बजार बोलायो। तर त्यहाँ पनि फिरौती बुझेनन्। र, अझ भित्रको बजार खुटौना आउन भन्यो। यादव परिवार खुटौना पुग्दा अपहरणकारीले यो ठाउँ पनि सेफ छैन भन्दै फर्काइदियो। त्यसपछि अपहरणकारीले यादव परिवारलाई फिरौती रकम लिएर सुपौल आउन भनेका थिए। तर उनीहरूले प्रहरीलाई खबर गरेको भन्दै छोरा मारिदिएको खबर सुनाएका थिए। मिथिलेश यादवले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित