शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

चीनमा भारी वर्षापछि तामाकोशीमा बाढीको उच्च जोखिम, दोलखा र सिन्धुपाल्चोकमा उच्च सतर्कता

दैनिक नेपाल २०७८ असार ५ गते १२:३३

काठमाडौं, ५ असार । चीनमा हावाहुरीसहित एक्कासी भारी वर्षा हुँदा नेपालको तामाकोशी नदीमा बाढीको जोखिम बढेको छ ।

चीनमा भएको वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोकिएकाले तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने जोखिम बढेको हो । यो जोखिमसँगै जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर सचेत रहन आग्रह गरिसकेको छ ।

जोखिमपछि चीनका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र पहिरोका कारण थुनिएको नदीको बहाव अहिलेसम्म खुलेको जानकारी नआएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले तिवारीले जानकारी दिए । आज बिहानसम्म तामाकोशी नदीमा पनि पानीको बहाव स्थिर नै रहेको उनको भनाइ छ ।

तर जोखिम कायम रहेकाले सचेत भने रहिरहन स्थानीय प्रशासनले अपील गरेको हो । थुनिएको नदीको बहाव कुनै पनि बेला खुलेर तामाकोशी नदीमा बाढी आउन सक्ने जोखिम छ । कुनै पनि खतराको संकेत पाउना साथ प्रशासनलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्गसीया शहर र त्यस आसपासमा भारी वर्षासँगै पहिरो जाँदा स्थानीय नदीको वहाब रोकिएको बताइएको छ ।

चीनमा नदीको बहाव थुनिएसँगै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि भारी वर्षाका कारण नदीहरुमा बहाव बढेर बाढी पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अपिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित