शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

स्विस बैंकमा नेपालीको पैसा वर्षमै दोब्बर

दैनिक नेपाल २०७८ असार ५ गते ८:००

काठमाडौं, ५ असार । गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ ।

नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ) थियो । सन् २०२० मा बचत ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ) पुगेको छ ।

यो बचत कसको र कति जना नेपालीको हो भन्नेबारे स्विस बैंकले सार्वजनिक गर्दैनन् । स्विस बैंकले बचतकर्तालाई उच्चस्तरको गोपनीयता कायम गरिदिन्छन् र कमस्तरको वित्तीय जोखिमको व्यवस्था गरेका छन् । गम्भीर प्रकारका अपराध, करछली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैरकानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको आरोप स्विस बैंकमाथि छ ।

नेपालीको बचत सन् २०१७ पछि लगातार दुई वर्ष घटेको थियो । स्विस नेसनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०१७ सम्म नेपालीको बचत ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ रुपैयाँ (हालको विनिमय दर अनुसार) थियो । २०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८ सय ४८ रुपैयाँमा झर्‍यो । २०१९ मा अझ घटेर २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँमा पुग्यो । २०२० मा भने दोब्बर भएको हो । यो रकम ब्याजसहितको हो ।

स्विस नेसनल बैंकले नेपालसहित विश्वभरका नागरिकको के कति मौज्दात छ भनेर सन् १९९६ (वि.सं. २०५२) देखिको विवरण सार्वजनिक गरेको छ । द्वन्द्व सुरु भएकै वर्ष १९९६ देखि २०२० सम्म नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रुपैयाँ (हालको विनिमय दर अनुसार) जम्मा गरिसकेको देखिन्छ । तर हालको मौज्दात त्यति नहुनुले नेपालीले बचत राख्ने र झिक्ने गरिरहेको देखाउँछ ।

स्विस बैकमा बचत गर्दा आयस्रोत खोजिँदैन र बचतकर्ताको विवरण गोप्य रहन्छ । त्यसैले स्विस बैंकलाई गैरकानुनी आर्जन राख्न सुरक्षित भनेर विश्वभर नै चिनिन्छ ।

नेपालको सन्दर्भमा स्विस बैंकमा बचत मुख्य दुई दृष्टिकोणले गैरकानुनी रहेकाले यसबारे सरकारले गम्भीर अुनुसन्धान गर्नुपर्ने अधिकारीहरू बताउँछन् । पहिलो– पारदर्शिता कमजोर भएको स्विस बैंकमा बचत गर्नु नै सम्पत्ति शुद्धीकरणको शंका गर्दै अनुसन्धान कार्य अगाडि बढाउनुपर्छ । दोस्रो– विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ मा नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, कम्पनी तथा फर्ममा लगानी गर्न नपाउने व्यवस्था छ । यसविपरीत कार्य गरे बिगोबमोजिमको जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । ‘नेपालीले स्विस

बैंकमा मौज्दात र विदेशमा लगानी गरेको विवरण सार्वजनिक हुनुले हाम्रो आर्थिक नीति उल्लंघन भएको पुष्टि गर्छ,’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले भने, ‘यस्ता विवरण धेरैपटक सार्वजनिक भए पनि लामो समयदेखि आँखा चिम्लिएकै अवस्था छ ।’ कृष्ण आचार्यले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित