बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जनताको हितमा काम गर्ने उद्योगलाई प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको होः मन्त्री यादव

दैनिक नेपाल २०७८ असार ४ गते १९:२७

विनय यादव

सिरहा, ४ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले देशमा कालोबजारी, महँगी र सीमित व्यापारीको मनोमानी नचल्ने बताएका छन् ।

मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रबार पहिलो पटक गृहजिल्ला सिरहा आएका मन्त्री यादवले चोहर्वास्थित रेडक्रसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘व्यापारी व्यवसायीहरूको प्राथमिकतामा व्यवसायसँगै सेवा भाव र उपभोक्ताको हित हुनुपर्छ’, उनले भने, ‘तर, त्यस्तो देखिएन । म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ । देशमा अब कालोबजारी, महँगी र व्यापारीको मनोमानी चल्दैन ।’

ठूलठूला उद्योगहरूमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दावी गरेका छन् ।

जनतालाई हित हुने गरी सेवा भावले मापदण्डभित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमी नहुने पनि मन्त्री यादवले बताएका छन् ।

उद्योगी व्यवयासीहरूको जायज माग सम्बोधनका लागि राज्य पछि नहट्ने उनको भनाइ छ ।

‘औद्योगिक क्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योगमैत्री वातावरण बनाउन दिनरात नभनी कार्य थालनी गरिसकेको छु’, उनले भने, ‘देशमा सरकार जनताका लागि काम गरिरहेको छ भन्ने कुरा जनतालाई अनुभूति गराउनेछु ।’

कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धरासायी बन्न पुगेको भन्दै यसलाई गतिशील बनाउन आफू गम्भीरतापूर्वक सक्रिय भइसकेको मन्त्री यादवले जनाएका छन् ।

मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै यही मन्त्रालय भएकाले आफूले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

वर्षायामका महिनामा हरेक वर्ष देशमा खाद्यान्नको अभाव देखिने गरेको भन्दै अब त्यो समस्या अन्त्य हुने उनले बताएका छन् ।

खाद्यान्न तथा उपभोग्यलगायतका सामाग्री आपूर्तिमा कुनै किसिमको समस्या आउन नदिने गरी काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेकोसमेत मन्त्री यादवले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित