काठमाडौं, ४ असार । साढे तीन वर्षअघि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि नेपाली कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवाको राजीनामा मागे। चार, आठ, सोह्र भाइसहितका विभिन्न गुट, उपगुट र समूहहरू दिनहुँजसो भेलामा जुटे। सभापति देउवामाथि केन्द्रीय समितिभित्र र बाहिरबाट दबाब दिन असन्तुष्ट पक्ष सक्रिय रह्यो।
निर्वाचनमा पार्टीको पराजयपछि देउवाले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने मात्र होइन, पार्टीको विशेष महाधिवेशनबाट उनलाई हटाउनुपर्ने धारणा पनि केही नेताले राखे। तर विशेष महाधिवेशनका लागि विधि र विधानसम्मत निर्णय प्रक्रिया अघि बढेन। निर्वाचन पराजयको राप सेलाउँदै जाँदा सभापति देउवाविरुद्धको आक्रोश पनि मत्थर हुँदै गयो। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने दाबी गर्ने युवा नेताहरूले पार्टीको अर्ली महाधिवेशनको मुद्दा बाहिर ल्याए। उक्त विषय कांग्रेसमा केही महिना चर्चामा रहे पनि साढे तीन वर्षमा कांग्रेसको विशेष वा अर्ली महाधिवेशन होइन, नियमित महाधिवेशनसमेत हुन सकेन।
चार वर्षभित्र पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने विधानमा व्यवस्था छ। २०७६ को फागुनमै चार वर्षे कार्यकाल गुजारेको कांग्रेसले विधानको विशेष व्यवस्थालाई टेक्दै एक वर्ष कार्यकाल बढायो। त्यसबीचमा महाधिवेशन गर्न कांग्रेसले मिति पनि तोक्यो। तर पार्टीभित्रको आन्तरिक विवाद, क्रियाशील सदस्यता वितरण र कोरोना भाइरसको संक्रमणका कारण कांग्रेसको १४औं महाधिवेशन हुन सकेन। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता नवीकरण र वितरण कांग्रेसले दुई वर्षअघिदेखि सुरु गरेको थियो। तर, अहिलेसम्म सकिएको छैन।
संगठन समायोजन, सदस्यता वितरणको काम नसकेको कांग्रेसले २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४औं महाधिवेशन कोरोना भाइरसको संक्रमणलाई देखाउँदै स्थगित ग¥यो। संवैधानिक व्यवस्थाको सहारा लिँदै कांग्रेस केन्द्रीय समितिको बैठकले २०७८ भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक ग¥यो। तर कोरोना भाइरसको दोस्रो लहर र आन्तरिक विवादका कारण पछिल्लो कार्यतालिका पनि पूर्ण रूपमा प्रभावित मात्र भएको छैन, भदौमा महाधिवेशन हुनेमा पनि संशय उत्पन्न भएको छ।
पार्टीको वैधता कसरी जोगाउन सकिन्छ भनेर कांग्रेसभित्र छलफल र बहस जारी रहेका बेला कोरोना भाइरसको संक्रमणकै बीच भदौमै महाधिवेशन गर्ने पदाधिकारी र पूर्वपदाधिकारीसहितले समझदारी गरे। जेठ २९ गतेको बैठकले महाधिवेशनको अन्तिम मिति नौ दिन पर धकल्दै नयाँ कार्यतालिका प्रस्ताव गरेको थियो। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्नेगरी फेरि पछाडि सारिएको छ। नागरिक दैनिकले खबर छापेको छ ।















प्रतिक्रिया