३० आश्विन २०८३, शुक्रबार

परीक्षण हिच्किचाहटका कारण संक्रमण दर अपेक्षाकृत घटेन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । कोरोना महामारीको दोस्रो लहर रोक्न अधिकांश जिल्लामा जारी निषेधाज्ञा डेढ महिनाभन्दा बढी भइसक्दा पनि राष्ट्रिय संक्रमण दर २० प्रतिशत हाराहारीमै छ। दुर्गम जिल्लामा संक्रमण दर अझ बढी छ। महामारी नियन्त्रणका लागि पर्याप्त परीक्षण र खोपको अभाव सँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्नुमा आममानिसमा भाइरस परीक्षणमा देखिएको हिच्किचाहट प्रमुख कारण रहेको छ।

‘अस्ती पानीले भिजेको, हिजो चिसो खाएको, आज धुलोमा गएको जस्ता बहाना’ बनाएर परीक्षण नगर्नेको संख्या अत्यधिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्। उनीहरूका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुनसक्छ भन्ने सन्देश व्यापक हिसाबले जनस्तरमा पुर्‍याउन आवश्यक छ। महामारीको यो अवश्थामा आम मानिससम्म पुग्न प्रभावकारी जोखिम सञ्चार रणनीति आवश्यक छ। भाइरस परीक्षणप्रति आम नागरिकलाई आकर्षित गर्न स्थानीय भाषामा सन्देश, टेलिफोन रिङटोनमा यो विषयमा सन्देश आवश्यक रहेको तथा परीक्षण व्यापक पार्न स्थानीय सरकार, स्वयंमसेवी समूह, आमा समूहलगायतका नागरिक समाजका समग्र सदस्यको सहयोग चाहिने विज्ञहरू बताउँछन्।

विशेषगरी भाइरस संक्रमण व्यापक हिसाबले समुदायस्तरमा विस्तार भएको पृष्ठभूमिमा जोखिममा रहेका र दुर्गम क्षेत्रका वासिन्दासम्म पुग्न सिर्जनात्मक विधि अवलम्बन गर्नु आवश्यक छ। विपन्न तथा दैनिक घरायसी कामको बोझले थिचिएकालाई भाइरस परीक्षण गर्न राज्यले प्रोत्साहन प्याकेज दिनुपर्ने हुन्छ। परीक्षणलाई खाद्य सहयोग तथा अन्य राहातसँग जोड्न सके विपन्नहरू परीक्षण गर्न तयार हुन सक्छन्। महामारीको सही अवस्थाको आंकलन गर्न तथा जनजीवनलाई पुरानै लयमा फर्काउन भाइरसको व्यापक परीक्षणको महत्व छ।

कोरोना भएकालाई समाजले गर्ने व्यवहार, भाइरसका विषयमा सुरुदेखि देखिएको भय, समाजिक हिसाबले अपहेलित हुनपर्ने डर यथावत् छ। कोरोनाका लक्षण हुँदाहुँदै पनि विभिन्न जिल्लाका ग्रामीण वासिन्दाहरू घरमै बस्ने र परीक्षण नगराउने गरेका समाचार सार्वजनिक भइरहेकाछन्। परीक्षणप्रतिको आम विश्वास र समयमै गरिने परीक्षणले बिरामी र तिनका परिवारजनको जीवन रक्षा गर्नसक्ने भएकाले आमजनसमुदायको भाइरसप्रतिको समग्र बुझाई अझै नकारात्मक छ। स्थानीय जनतासँग सिधा र विश्वासिलो सम्बन्ध भएका स्वास्थ्यकर्मी, गाउँका मान्यजन तथा परपरम्परागत उपचार गर्ने धामी झाँक्रीलगायतका परम्परागत उपचारकलाई सलग्न गराउँदा सर्वसाधारण परीक्षणप्रति आकर्षित हुन सक्छन्। समयमै गरिने परीक्षणले संक्रमितको उपचार गर्न सकिने र अक्सिजन स्तर धेरै घट्नबाट जोगाउन सकिने चिकित्सक मान्छन्। श्रीराम सुवेदीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।