शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एसईईको नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

दैनिक नेपाल २०७८ जेठ ३१ गते १०:२४

काठमाडौं, ३१ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)काे नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी गरिएको छ ।

यसका लागि २० असारभित्र आन्तरिक मूल्याङ्कन गरी पठाउन देशभरका विद्यालयलाई निर्देशन दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि पारित गरेको छ। त्यस आधारमा २० असारभित्र सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले बताए ।

विद्यालयले जिल्ला समन्वय एकाइ कार्यालयमा पठाउनुपर्ने छ । विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने समय तोकिएको छ। असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम बोर्डले गर्ने भएको छ ।

कुनै अवरोध नभए बोर्डले एसईईको नतिजा आगामी १५ साउनभित्र सार्वजनिक गर्नसक्ने प्रा. पौडेलले बताए । भदौदेखि कक्षा ११ को पढाइ शुरू गर्नसक्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको उनको भनाइ छ ।

बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकलाई जिम्मेवार बनाउन खोजेको छ । त्यसका लागि विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित समिति बनाएर उनीहरूले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको अध्यक्ष प्रा. पौडेलले बताए । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्नसक्ने प्रावधान परीक्षा सम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित