३० आश्विन २०८३, शुक्रबार

स्थानीय तहमा ‘ह्वाइट गोल्ड’: कतै नदीमै, कतै खोसाखोस

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । तनहुँको ऋषिङ गाउँपालिकालाई दुई ठूला नदी सेती र कालिगण्डकी नदीले छुन्छन् । ऋषिङ–१ झापुटारमा सेती नदीले छुन्छ । झापुटार सदरमुकाम दमौलीपारिको बस्ती हो । झापुटारमै तनहुँ जलविद्युत् आयोजना निर्माणाधिन छ । त्यसैले झापुटारसम्म यातायातको पहुँच छ ।

यातायातको पहुँच र जलविद्युत् आयोजनाका कारण झापुटार क्षेत्रमा पर्ने सेती नदीबाट निकालिने ढुंगा, गिटी, बालुवा सहजै बिक्री हुन्छ । ऋषिङमा पर्ने सेतीका दुईवटा घाटबाट वार्षिक झन्डै ४० लाख रुपैयाँ मूल्यको ढुंगा, गिटी, बालुवा निकालिन्छ । गाउँपालिकाले टेण्डर आह्वान गर्दा सेतीबाट ढुंगा, गिटी, बालुवा निकाल्न हानाथाप हुन्छ । कारण–यातायातको पहुँच भएकाले सहजै बिक्री हुन्छ । खोलाबाट निकिालिएको अधिक सामग्री जलविद्युत् आयोजनामै खपत हुन्छ ।

तर ऋषिङ क्षेत्र भएर बग्ने कालिगण्डकी नदीबाट भने ढुंगा, गिटी, बालुवा निकाल्न चाहेर पनि सकिएको छैन । यातायातको पहुँच सहज नहुँदा निकाल्नका लागि टेण्डर आह्वान गर्दा पनि निवेदन पर्दैन । ऋषिङमा पर्ने कालिगण्डकीका आधादर्जन घाटबाट ढुंगा, गिटी, बालुवा निकाल्न वर्षेनी गाउँपालिकाले टेण्डर मागे पनि खासै प्रतिस्पर्धा हुँदैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल भन्छन्, ‘यातायातको पहुँच छैन । त्यसैले गर्दा कालिगण्डकीको ढुंगा, गिटी, बालुवाको बिक्री कम छ ।’ खोलामा ढुंगा, गिटी, बालुवा थुप्रिए पनि निकाल्न टेण्डर माग्दा धेरैले इच्छा देखाउँदैनन् । उनका अनुसार वर्षेनी झन्डै १० करोड रुपैयाँको ढुंगा, गिटी, बालुवा कालिगण्डकीबाट निकाल्न मिल्छ । तर, बढीमा ६० लाख रुपैयाँको ढुंगा, गिटी, बालुवा मात्र उत्खनन हुन्छ । ‘पालिकाभित्र विकास निर्माण गर्दा मात्र यहाँको ढुंगा, गिटी, बालुवा उपयोग हुन्छ । बजारसम्म पहुँच छैन, त्यसैले निकाल्नै सकिएको छैन,’ उनले भने, ‘निकै नै गुणस्तरीय सामग्री हुँदाहुँदै पनि यातायातको सहज पहुँच नहुँदा निकाल्न सकिएको छैन ।’

गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइई) गरेर निकाल्न मिल्ने ढुंगा, गिटी, बालुवाको परिणाम यकिन गर्दै आए पनि निकै थोरै मात्र निकालिएको उनले बताए । ‘यातायातको पहुँच नहुँदा बजारसम्म पुर्‍याउन नसक्दा निकाल्न हानथाप हुन्न,’ उनले भने । उनका अनुसार नदीदेखि ५० किलोमिटर कच्ची सडक पार गरेपछि बल्ल पृथ्वी राजमार्ग पुगिन्छ । ढुवानीको समस्याले पनि यहाँको ढुंगा, गिटी, बालुवाले बजार नपाएको उनले बताए । कालिगण्डकी नदी ऋषिङको करिब ५० किलोमिटर भाग भएर बग्छ । यसको वारि तनहुँ र पारि नवलपुर पर्छ । कालीगण्डकीबाट ढुंगा, गिटी, बालुवा निकाल्न नसके पनि गाउँपालिकालाई असर नपरेको उनले बताए । ‘नदीमा वर्षेेनी थुप्रिएको सामग्री ननिकाल्दा जोखिम हुन्छ भन्छन् तर त्यो जोखिम हामीले अहिलेसम्म भोग्नुपरेको छैन,’ उनले भने, ‘वर्षाको बाढीले बगाएर ल्याउँदा यहाँ थुप्रिएको हो, यहाँबाट बगेरै तलतिर जान्छ । ननिकाल्दा पनि केही असर परेको छैन ।’

तनहुँकै शुक्लागण्डकी नगरपालिकाले वर्षमा झन्डै ११ करोड रुपैयाँ सेतीकै ढुंगा, गिटी, बालुवा बेचेर आम्दानी गर्छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीका अनुसार आइई गरेर नदीजन्य सामग्री निकालिएको छ । उनका अनुसार नदीजन्य सामग्री निकाल्न थालेको वर्षाैं भयो । सातवटा घाटबाट निर्माण सामग्री निकाल्न टेण्डर आह्वान गर्दा बढाबढमा ११ करोड रुपैयाँ नगरपालिकाले यो वर्ष कमाएको छ ।

उनका अनुसार स्थानीय तहका पदाधिकारी खोलाबाट निकालिने ढुंगा, गिटी, बालुवालाई सुन सरह ठान्छन् । सेतीबाट ढुंगा, गिटी, बालुवा निकाल्न नसक्ने हो भने बजारको माग थेग्न चोरी निकासी हुने भएकाले पनि स्थानीय तहले आम्दानीका लागि पनि टेण्डर आह्वान गरेर निकाल्ने गरेको सुवेदीले बताए । ‘हामीले आइई गरेर निकाल्छौं तर ननिकाल्ने हो भने चोरी निकासी बढ्छ । त्यसले गर्दा स्थानीय तहलाई घाटा हुन्छ,’ उनले भने, ‘चोरी निकासी हुनुभन्दा स्थानीय तहले आम्दानी गर्नु राम्रो हुन्छ ।’

ढुंगा, गिटी, बालुवा ननिकाल्दा खोलाको बहाव नै परिवर्तन हुने जोखिम हुन्छ । त्यसले गर्दा पनि निकाल्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘हरेक वर्ष थुप्रिन दिने हो भने जोखिम पनि बढाउँछ । मुख्य आम्दानीका लागि नै निकाल्ने हो । स्थानीय तहका पदाधिकारी खोलाबाट निकालिने ढुंगा, गिटी र बालुवालाई सुनसरह ठान्छन्,’ उनले भने, ‘हुन पनि त्यस्तै छ, सेतीको शुक्लागण्डकी खण्डको ढुंगा, गिटी र बालुवाको माग पनि अधिक छ । गुणस्तरीय भन्दै खोजी हुन्छ ।’ नागरिक दैनिकले समाचार छापेको छ ।