बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

प्रधानमन्त्रीमाथि भौतिक आक्रमणको खुलेआम धम्कीप्रति माधवपक्षीय नेताको समर्थन

दैनिक नेपाल २०७८ जेठ २९ गते १३:५२

काठमाडौं, २९ जेठ । वागमती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार रहेको भनी दिएको अभिव्यक्तिलाई नेकपा एमालेका माधवपक्षीय नेताले समर्थन गरेका छन् ।

एमाले केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सांसद समेत रहेका मेटमणि चौधरीले वैद्यको अभिव्यक्तिको खुलेर समर्थन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भौतिक आक्रमण गर्न तयार रहेको भनाइप्रति समर्थन जनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

चौधरीले नरोत्तम वैद्यको अभिव्यक्ति सबैलाई अप्रिय लागे पनि सत्य भएको टिप्पणी गर्दै वैद्यलाई धन्यवाद समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘माननीय नरोत्तमको अभिब्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो । नेपाली मनोविज्ञानलाई बागमती प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’

वैद्यले कुनै पनि हालतमा माफी माग्न नपर्ने जिकिर गर्दै उनले लेखेका छन्, ‘उहाँले न माफी माग्नु पर्दछ न त पश्चाताप ! बरू हामी शासक भनिनेहरू नै प्रणाली ध्वस्त गर्ने विषयमा ख्याल गरौं, संविधान मिचेकोमा पश्चाताप गरौं । अदालतले बेठिक ठहर गरेको विषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफी मागौं र आगामी दिनमा गल्ती नगर्ने विषयमा प्रतिवद्धता जाहेर गरौं । अतः अब जनताहरूका मनोविज्ञान बुझौ, सो अनुसारको व्यवहार र आचरण देखाऔं । जनताहरूका मन जितौं, गुमेको साख उठाऔं । कसैसँग बदलाको भाव नराखौ । यसैमा हामी सबैको कल्याण हुन्छ ।’

खुलेआम भौतिक आक्रमणको धम्की त्यो पनि जनउत्तरदायी संस्थाको रोष्टमबाट आएपछि स्वयम् नेपाली कांग्रेसका नेताहरूले समेत चर्को आलोचना गर्दै माफी माग्न सुझाव दिइरहेका बेला उनले भने भौतिक आक्रमणको अपराधजन्य अभिव्यक्तिलाई समर्थन जनाएका हुन् ।

यो समाचार तयार पार्दाको समयसम्म सांसद वैद्यले रोष्टममै उभिएर माफी मागिसकेका छन् । आफूले वाक स्वतन्त्रतालाई बढी नै दुरुपयोग गरेको भन्दै आत्मालोचनासहित माफी मागेर संसदको रेकर्डबाट अभिव्यक्ति हटाउन आग्रह गरिसकेको र सभामुखले पनि सो अभिव्यक्ति हटाइसकेका छन् ।

तर, व्यक्तिगत आवेग र कुण्ठा पालेर बसेका कतिपय नेताहरूले अपराधजन्य अभिव्यक्तिलाई प्रश्रय दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित