७ कार्तिक २०८३, शनिबार

ज्येष्ठ नागरिकको सम्मानका लागि विद्यालयस्तरीय कविता प्रतियोगिता हुँदै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । ज्येष्ठ नागरिकमाथि हुँदै आएको विभिन्न खालका दुर्व्यवहारविरुद्ध उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता हुने भएको छ ।

समाजकल्याण परिषदअन्तर्गत राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सन काठमाडौंको संयुक्त आयोजनामा आगामी असार १ गते प्रतियोगिता आयोजना गरिँदैछ । सो प्रतियोगितामा सहभागिताका लागि भोलि (जेठ २९ गते) अपराह्न ४ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा उपत्यकाभित्रका कुनै पनि विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका छात्र–छात्राले सहभागिता जनाउन पाउने छन् । सहभागीले आफ्नो कविता बढीमा ४ मिनेटभित्र बाचन गरिसक्नुपर्ने छ । ‘ज्येष्ठ नागरिकको दुर्व्यवहारविरुद्ध जनचेतना दिवसका अवसरमा हामीले यो चेतनामुलक कार्यक्रम आयोजना गर्न लागेका हौं,’ कोषका सभापति कार्कीले भने, ‘कोरोना महामारीको समयमा ज्येष्ठ नागरिकसम्बन्धी जनचेतनाका साथै घरमै बसिरहेका विद्यार्थी भाइबहिनीहरूलाई समेत सृजनशील बनाउने उद्देश्यअनुरूप भर्चुअल माध्यमबाट यो कार्यक्रम गर्न लागेका हौं ।’

प्रतियोगितामा प्रथम हुने छात्र–छात्राले ८ हजार रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई ६ हजार रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा तेस्रो स्थान हासिल गर्नेलाई ४ हजार रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने नेशनल प्याब्सन, काठमाडौंका सचिव अमृत खड्काले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सान्त्वनास्वरूप ४ जनालाई जनही १ हजार रूपैयाँ नगद प्रदान गरिने छ । ‘इच्छुक विद्यार्थी भाइबहिनीहरूले जेठ २९ गते शनिबार (भोलि) सम्ममा नाम दर्ता गरिसक्नुपर्ने छ,’ सचिव खड्काले भने, ‘प्रतियोगितामा प्रस्तुत हुने कविता ज्येष्ठ नागरिक र उहाँहरूमाथि भइरहेका विभिन्न खालका दुर्व्यवहारको विरुद्धमा जनचेतना जगाउने खालको हुनुपर्ने छ ।’

सहभागिताका लागि नाम दर्ता गर्न ९८५१२३७४६७, ९८५१०११६६९ मा सम्पर्क गर्न पनि सचिव खड्काले विद्यार्थीहरूलाई अनुरोध गरेका छन् । प्रतियोगितामा साहित्य क्षेत्रका व्यक्ति–व्यक्तित्वहरूको समेत सहभागिता रहने बताइएको छ ।