शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

दैनिक नेपाल २०७८ जेठ २८ गते १३:३२

काठमाडौं, २८ जेठ । बाँके, दाङ र डोटीमा भएको विभिन्न सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको विवरणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित सडकमा ज.९ प ५०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० मनिकापुर बस्ने ६५ वर्षीय बर्षादी नाउको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक दैलेख माकु गाउँपालिका–५ बस्ने २८ वर्षीय प्रमोद शाहीलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरीले बताएको छ ।

त्यस्तै दाङको राप्ती गाउँपालिका–२ स्थित सडकमा लु.अ.अ.च.५३३४ नम्बरको गाडी र भे.१ प ८४२२ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी डोटीको दिपायल सिलगढी नगरपालिका–४ समुहगाडस्थित सडकमा सु.प्र.प ००१००१ च २६१५ नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिप चालक धनगडी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० बर्षीय हुहुम शाहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना परी घाइते भएकी जिपमा सवार बाजुरा बारबिस नगरपालिका–५ बस्ने २६ बर्षीया देवी कुमारी शाहको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित