शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

यसरी सम्भव भयो प्रदेश २ मा सत्ता सहकार्य

दैनिक नेपाल २०७८ जेठ २७ गते ६:४५

काठमाडौं, २७ जेठ । ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’

प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजवादी पार्टी (जसपा) का उपनेता रामआशिष यादवद्वारा व्यक्त यो भनाइप्रति यहाँका सबै दलको सहमति छ। आर्थिक समृद्धि, समावेशिता, संघीयतालाई संस्थागत गर्नुपर्ने बेला राजनीतिक दलहरू अझै सत्ताकै खेलमा अल्झिनु दुःखद रहेको उनले बताए। यसकारण संघीयता र समावेशितामाथिको प्रहार उचित नभएको र यसको रक्षाका लागि सबैलाई एकजुट हुनुपर्ने धारणा उनले राखेका थिए।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले संविधानमाथि भइरहेको प्रहारको रक्षार्थ परिवर्तनकारी शक्ति मिलेर लड्नुको विकल्प नभएको उल्लेख गरे। ‘मुलुकमा संघीयता, गणतन्त्रलगायत परिवर्तन चामत्कारिक रूपमा आएको होइन,’ उनले भने, ‘धेरै सपूतहरूको बलिदानीबाट आएको परिवर्तनको रक्षा गर्न दिलोज्यान दिएर लाग्नुपर्छ।’

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले संघीयता, गणतन्त्र, समावेशिताको मुद्दा संविधानमा संस्थागत भए पनि अहिलेको शासक यसलाई बलियो पार्नभन्दा पनि सिध्याउनतिर उद्यत रहेको बताए। अहिलेको शासकका कारण नेपाली जनताको शिर निहुरिएको उनको भनाइ थियो। उनका अनुसार देश तीव्र रूपमा ध्रुवीकरणतर्फ उन्मुख छ। एकथरी अग्रगमनतर्फ र अर्कोथरी प्रतिगमनतर्फ अघि बढिरहेका छन्। प्रतिगमनकारी शक्ति पहिचानवादीलाई समेत विखण्डित तुल्याएर त्यससँग सम्बन्धित मुद्दालाई कमजोर गर्न अग्रसर देखिएको साहको भनाय थियो। प्रतिगमनकारीले जति शक्ति लगाए पनि अग्रगमनसँग पराजित भएरै छाड्ने दाबी उनले गरे। अहिले देशैभरि प्रतिगमनविरुद्धको मोर्चा कसिलो पार्ने लहर चलिरहेको उनले बताए।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न थालेपछि ओलीविरुद्ध मोर्चा कसेको विपक्षी गठबन्धनले प्रदेशमा समेत यो अभियान फैलाउँदै लगेको छ।

ओली नेतृत्वको एमाले, माओवादी केन्द्रसहितका दलले २०७४ सालको आम निर्वाचनमा तालमेल गर्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको थियो। तर एमाले र माओवादी केन्द्र अलग्गिएसँगै नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्तारोहणनजिक पुगेको छ। तीन वर्षअघि एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलहले दुई पार्टी पुरानै अवस्थामा फर्काइएपछि कांग्रेसका लागि सत्तारोहण सहज बनेको हो। त्यसमा पनि एमालेकै नेपाल समूह ओलीको विपक्षमा उभिएपछि कांग्रेसलाई प्रदेश २ सरकारमा सहभागी हुन सहज बनेको हो।

प्रदेश २ सरकारबाट जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई हटाएर उपेन्द्र पक्षले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने पहल गरेको थियो। कांग्रेस तीन महत्वपूर्ण मन्त्रालयसहित सत्ता सहकार्यमा सहभागी भइ नै सकेको छ भने माओवादी केन्द्रले पनि सरकारमा सहभागिता पक्का गरिसकेको छ। सत्ता साझेदारी गराउने प्रयत्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरमै छन्। कांग्रेससँग कुरा मिलिसकेपछि अब माओवादी केन्द्रका नेताहरूसँगको छलफलमा उनी केन्द्रित भएका छन्। जसपाद्वारा वार्ताका लागि गठित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति अहिले सक्रिय भएर लागेको छ।

जसपाले कांग्रेसलाई दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेको थियो। सुरुमा मुख्यमन्त्री दाबी गरेको कांग्रेसले तीन मन्त्रालय मागेपछि बुधबार दिनभरिको छलफलबाट सोहीअनुरूप नै सहमति भएको थियो। माओवादीले पनि तीनवटा मन्त्रालय दाबी गरेको छ। ‘हामीले तीन मन्त्रालय मागेका छौं, उहाँहरूले एउटाको कुरा गर्नुभएको छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक दिलीप साहले भने, ‘तर छलफल सकारात्मक रूपमा अघि बढिरहेको छ।’ दुईवटा मन्त्रालयमा कुरा मिलिसकेको समेत उनले बताए।’

यस्तो छ अंक गणित

प्रदेश २ मा हाल १ सय ४ जना सांसद छन। यसअघि १ सय ७ सांसद रहे पनि माओवादी केन्द्रले तीन सांसदलाई निष्कासन गरेपछि सो संख्या १ सय ४ मा झरेको हो। प्रदेशमा अहिले सबैभन्दा ठूलो दल जसपा नै हो। जसपाको दुवै पक्षका (समाजवादी र राजपा) गरी ५५ सांसद छन्।

अहिले संसदभित्रको अंकका आधारमा सरकार गठनका लागि ५३ सांसद आवश्यक पर्छ । जसपा ‘टुक्रिँदा’ यादव पक्षीय जसपासँग ३५ सांसद छन् । ठाकुर पक्षीय जसपाका २५ सांसद भए पनि पाँच सांसदले यादवतिरै हस्ताक्षर गरेका छन् । त्यसकारण ठाकुर पक्षसँग २० जना मात्र सांसद छन् ।

सोमबार ठाकुर पक्षको संसदीय दल बैठकमा १५ सांसद मात्र उपस्थित थिए । यादव पक्षले ठाकुर पक्षका थप पाँच सांसदलाई आफूतिर ल्याइसकेको दाबी गरेको छ । प्रदेशमा एमालेसँग २१ सांसद छन् । ती पनि ओली र नेपाल समूहमा विभक्त छन् । प्रदेश २ मा तेस्रो ठूलो दल कांग्रेस हो । कांग्रेससित १९ सांसद छन् । माओवादीसँग पनि आठ सांसद छन् । रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीको सांसद संख्याएक छ । प्रदेश २ को यही गणितका आधारमा जसपा उपेन्द्र पक्षका ३५ सांसद, कांग्रेसका १९ र माओवादीका आठ सांसद जोड्दा ६२ सांसद पुग्छ । एमाले नेपाल समूहको पनि साथ यही गठबन्धनलाई छ ।

हटाइए ओलीका सारथि

जसपा अध्यक्ष ठाकुरलाई एमाले अध्यक्ष शर्मा ओली नेतृत्वको सरकारमा जानबाट रोक्न जसपाका अर्का अध्यक्ष यादवले अनेक उपाय लगाए । मधेस आन्दोलनका बेला ओलीले मधेसमाथि मानवीय संवेदनासमेत ख्याल नगरी दिएको अभिव्यक्ति दिएकोदेखि संविधान संशोधनको प्रमुख बाधक बनेको समेत यादवले स्मरण गराए तर ठाकुर मानेनन् । ठाकुरले नेता राजेन्द्र महतोको नेतृत्वमा आफू पक्षीय सांसदहरूलाई सरकारमा सहभागी गराएपछि गत शुक्रबार दिउँसो अध्यक्ष उपेन्द्र यादव जनकपुर आइपुगे । हिँड्नुअघि उनले कांग्रेस उपसभापति विमलेन्द्र निधिसित काठमाडौंमै भेटेर प्रदेश २ सरकारमा कांग्रेसको सहभागिताबारे रोडम्याप प्रस्तुत गरेका थिए । निधिसित कुरा मिलाएर यादव जनकपुर आइपुगेका थिए । उता ठाकुर पक्षबाट महतोसहितकाले ओली सरकारको सारथि बनेको शपथ खाए । ओलीको पछिल्लो राजनीतिक कदमलाई प्रतिगामी, संघीयताविरोधी भन्दै चर्को विरोध गर्दै आएका यादव आफ्नै दलका सांसदलाई ओली सत्ताको सारथि बन्नबाट रोक्न नसकेको झोक प्रदेशमा उतार्दैछन् ।

मुख्यमन्त्री लालबाबु राउतसँग यादवले सरकार पुनर्गठन गर्नुअघि ठाकुर पक्षका मन्त्रीलाई फालिहाल्ने सल्लाह गरे । तर यो निर्णय तत्काल लागू गर्दा राउत नेतृत्वको सरकार धरापमा पर्ने खतरा देखियो । उक्त खतरा टार्न कांग्रेस–माओवादी केन्द्रको साथ आवश्यक थियो ।

माओवादी केन्द्रको साथ लिन त्यति तनाव नभए पनि कांग्रेसको समर्थन लिन यादवलले धेरै पापड पेल्नुप¥यो । कारण, कांग्रेसले जसपा यादव पक्षको सत्ता जोगाउन मुख्यमन्त्री नै मागेका थिए । यस चुनौतीबाट पार पाउन यादवले कांग्रेससँग अर्को प्रस्ताव अघि सारे । त्यो थियो तीनवटा प्रदेश (१, २ र लुम्बिनी) का लागि प्याकेजमा सहमति । प्रदेश १ र लुम्बिनी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री बनाउन जसपाले समर्थन गर्ने र प्रदेश २ मा राउत नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन गर्ने प्रस्ताव कांग्रेस शीर्ष नेतासमक्ष राखियो । कांग्रेसबाट ‘ग्रिन सिग्नल’ पाएपछि अध्यक्ष यादवकै उपस्थितिमा आइतबार मुख्यमन्त्री राउतलाई जसपा संसदीय दलको नेता चुनियो । नेतन चयन भएकै दिन आइतबार राति मुख्यमन्त्री राउतले ठाकुर पक्षकनिकट (तत्कालीन राजपा) का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसहित तीन राज्यमन्त्रीलाई पदमुक्त गरिदिए ।

सत्यनारायण मण्डल र शत्रुधन महतोको बेग्लै रस्साकस्सी

प्रदेशसभा निर्वाचनपछि प्रदेश २ को प्रदेसभामा माओवादीका ११ सांसदले प्रतिनिधित्व गरेका थिए । एमालेका २१ जना भए । माओवादी र एमाले एकीकरण भएर गठित नेकपाको प्रदेश २ को प्रदेशसभामा ३२ सिट पुगे । एकीकरणअघि एमाले संसदीय दलको नेता सत्यनारायण मण्डल छानिएका थिए । त्यो बेला अर्का आकांक्षी शत्रुधन महतोको पक्षमा कम मत परेको थियो । त्यसपछि दुवै दलबीच एकीकरण भएपछि पनि संसदीय दलको नेतामा मण्डल नै कायम थिए । पछि नेकपाभित्र ओली र उनीइतरबीच तीव्र धु्रवीकरण भएपछि बहुमत सांसदको मतबाट संसदीय दलको नेतामा शत्रुधन महतो चुनिए । नेकपा दुई पक्षमा विभाजित भएपछि संसदीय दलका नेता मण्डलविरुद्ध नेकपा (दहाल–नेपाल) पक्षले पुस १३ गते विधानअनुसार अविश्वासको प्रस्ताव दर्ता गरायो । संसदीय दलको बैठक बोलाउन दहाल–नेपाल पक्षका सांसदले प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा तथा सचेतक बेचु लुंगेलीलाई आग्रह गरेपछि बैठक बस्यो ।

मण्डललाई दलको नेताबाट हटाई महतोलाई चयन गरियो । सर्वोच्चको निर्णयले माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा बदर गरिदियो । त्यसपछि एमालेको संसदीय दलका नेतामा पुनः मण्डल फर्किए । अहिले फेरि उनी हटाइएका छन् । एमाले ओली र नेपाल दुई समूहमा विभाजित छ । एमालेको संसदीय दलका नेता शत्रुधन महतो नेपाल पक्षका मानिन्छन् । मिथिलेश यादवले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित