१ कार्तिक २०८३, शनिबार

ढुंगागिट्टी मासिँदै, पानी भासिँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । खानेपानीका लागि तराईमा सजिलो साधन हो चापाकल (ट्युबवेल) । ठाउँ छनोट गर्‍यो, मिस्त्री बोलायो । पाइप ल्याएपछि जडानको काम झन्झटिलो छैन । त्यसैले तराईका जिल्लामा धाराको साटो ट्युबवेल देखिन्छ ।

धनुषाको ढल्केबरनजिक बटेश्वर–४ मा बस्तीबीच सुकेको इनार । चुरे क्षेत्रबाट ५ किमि दूरीको यो बस्तीमा चार वर्षयता सबैजसो इनारका पानीको सतह निकै घटेको छ । स्थानीयका अनुसार चुरेमा जथाभावी रूख कटान र ढुंगागिट्टी, बालुवा झिक्ने क्रम बढेसँगै गाउँनजिकका औरही र बिगही खोला सुकेका छन् । सँगै बस्तीका इनारमा पानीको सतह पनि घटेको हो ।
दशक पनि भएको छैन, जनकपुरमा ७५–८० फिटमै पाइप गाड्दा ट्युबवेलमा पर्याप्त पानी आउँथ्यो । पोखरी नै पोखरीको यो सहरमा खानेपानीको चरम अभाव होला भन्ने कसैले सोचेका पनि थिएनन् । यहाँको संस्कार नै छ, पाहुना आए चापाकलबाट खिचेर एक लोटा चिसो पानी खुवाउने ।

खानेपानीको मामिलामा अब भने जनकपुर ‘कन्जुस’ हुन थालेको छ । घरघरमा खानेपानीको धारा राख्न थालिएका छन्, जारको पानी प्रयोग बढेको छ । धारामा पानी नआएका दिन र जारवालाले पानी नपुर्‍याए जनकपुरवासी हैरान हुन्छन् । यो सहर चुरे क्षेत्रभन्दा करिब ३० किलोमिटर दक्षिणमा छ । चुरे दोहन जतिजति बढ्यो, जनकपुरमा खानेपानीको जमिनमुनिको सतह अझ तल गयो । ‘हिजोआज ठाउँ हेरेर चार सय फिट मुनिसम्म पाइप गाड्दा पनि चापाकलमा पानी आउँछ भन्ने ग्यारेन्टी रहेन,’ जनकपुर–९ का विमलेश सिंहले भने, ‘पाइप गाडेर मात्र हुन्न, मोटर लगाएर नतानेसम्म चापाकल पेलेर पानी आउँदैन ।’ चार सय फिटभन्दा गहिरो पाइप गाडेर चापाकल जडान गर्न डेढदेखि दुई लाख रुपैयाँ खर्च पर्छ । पानीको मुहान मुनिमुनि झर्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले गत वर्षदेखि सार्वजनिक स्थलमा चापाकल गाड्ने अभियान नै थालेको छ । यस क्रममा जनकपुर–१० मा गत वर्ष मात्रै ११ सार्वजनिक स्थानमा चापाकल गाडिएको वडाध्यक्ष मिथिलेश कर्णले बताए ।

भूमिगत स्रोतबाट खानेपानीको समस्या बढेपछि नेपाल खानेपानी संस्थानले दुई वटा ओभरहेड ट्यांकीमार्फत दिनको तीन पटक जनकपुरमा पानी आपूर्ति गरिरहेको छ । संस्थानका जनकपुर प्रमुख श्रीश राजभण्डारीका अनुसार खानेपानीको माग जनकपुरमा उच्च छ । जानकी चोक र रामानन्द चोकमा संस्थानको नौ लाख लिटर क्षमताको दुई वटा ओभरहेड ट्यांकी छन् । ‘हाम्रो सर्भिस एरिया थोरै भए पनि खानेपानीको माग उच्च छ,’ उनले भने, ‘बिहान, दिउँसो र साँझ गरी तीन टाइम पानी सप्लाई गरिरहेका छौं ।’

चुरेमा दोहन र माथिल्लो क्षेत्रमा बस्ती विस्तार भएसँगै जनकपुरमा भूमिगत पानीको सतह मुनिमुनि गएको प्राविधिकहरू बताउँछन् । एक दशकयता धनुषामा सतहमुनिको सञ्चित जलभण्डार १० देखि ५० मिटर तल झरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जनकपुरको तथ्यांकले देखाउँछ । उत्तरी धनुषाको जमुनीवासमा सात वर्षभित्र पानीको सतह ५० मिटर तल झरेको छ । ‘सतहमुनिको जलभण्डार उकास्न चुरे संरक्षणलाई नै प्राथमिकता दिनुपर्छ, यसको विकल्प छैन,’ सिँचाइविज्ञ इन्जिनियर रत्नेश्वरलाल कर्ण भन्छन् । चुरेको वन क्षेत्र कटान रोक्नुपर्ने, वृक्षरोपण गर्नुपर्ने, नदीमा बाँध बाँधेर पानी संरक्षणका काम गर्नुका साथै जथाभावी ढुंगागिट्टी र बालुवा झिक्ने काम बन्द गरिनुपर्ने उनको सुझाव छ ।

प्रदेश २ का आठवटै जिल्ला चुरेको तल्लो भेगमा पर्छ । चुरेमा भइरहेको अतिक्रमणको मूल्य तराईका बासिन्दाले चुकाउनु परिरहेको छ । आँगनमा पाइप गाड्दा सजिलै पानी पाइने गाउँहरूमा परम्परागत इनार त सुकेकै छन्, चापाकलमा पनि पानी सजिलै आउन छाडेको छ । खानेपानीको समस्या चुरेको फेदकै बस्ती र टाढाको भित्री मधेसमा पनि बढ्दो छ । स्यालो ट्युबवेल र इनारबाट मनग्यै पानी आउने धनुषाको उत्तरपूर्वी बस्ती रातमाटे, तिनतले, वीरेन्द्रबजारलगायत चुरे किनारको बस्तीमा पनि ३ देखि ४ सय फिट गहिरो बोरिङ खन्दा बल्ल पानी आउँछ ।

चुरे पर्वत शृंखलाको फेदमा पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरको बस्ती बटेश्वर, ढल्केबर, जमुनीवास, वेंगाडावर, तुलसी, लालगढ, भरतपुरलगायतमा खानेपानीको अभाव चुलिएको छ । १ सय ५० देखि २ सय फिटमा अटोमेटिक बोरिङ (पानी आफैं निस्कने) हुने तथा ५० देखि ६० फिटमुनिबाट सजिलै पानी निस्किने धनुषाको ललिया, हंसपुर, बघचौडा, निकाल, कुम्हराटोललगायत गाउँमा पनि गर्मीको मौसममा चापाकलबाट पानी झर्दैन । त्यहाँ पनि चापाकलको पानीका लागि २ सय ५० देखि ४ सय फिट गहिराइमा पाइप जडान नगरी नहुने भइसकेको छ । ‘पहिले ५० हात (करिब ७५–८० फिट) गहिरो इनार खनेपछि मनग्यै पानी आउँथ्यो । अहिले ३ देखि ४ सय फिट तलबाट मात्र पानी आउँछ,’ धनुषा गणेशमान–चारनाथ नगरपालिकाका सूर्यकुमार यादवले भने । ‘केही वर्षअघिसम्म चुरे फेदका बस्ती तीनतले र रातमाटेबाट निस्किने चारनाथ नदीमा पानी पर्याप्त हुन्थ्यो । अचेल पानीको बहाव नै छैन,’ उनले भने ।

धनुषाकै बटेश्वर गाउँपालिका–४ मा जडान गरिएका झन्डै २ सय चापाकल र इनारमध्ये अधिकांशबाट पानी आउँदैन । स्थानीयका अनुसार गाउँनजिकबाट बग्ने औरही र बिगही खोला सुक्खा भएपछि गाउँका चापाकल र इनार सुकेको हो । बटेश्वरको शान्तिपुरका ६२ वर्षीय बेचन कापरले भने, ‘अचेल न खोलामा पानी छ न चापाकलमा आउँछ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ ।