
काठमाडौं, २२ जेठ । दोलखाको बिगु गाउँपालिका–३ बुलुङस्थित बुलुङ स्वास्थ्यचौकीलाई काठमाडौंमा बसोबास गर्ने युवाहरूले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
विभिन्न पेसा व्यवसायका लागि बुलुङबाट काठमाडौं आएर बसोबास गरिरहेका युवाहरूको समूहले कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेका आफ्ना गाउँवासी दाजुभाइ तथा दिदीबहिनीलाई लक्षित गरी स्वास्थ्यचौकीमार्फत आइसोलेसन बेड र अक्सिजनसहितको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
विष्णुराज (दिपक) आचार्यको संयोजकत्वमा कवन आचार्य, ओमकृष्ण आचार्य, रविन खड्का र पुष्कर मल्ल ठकुरीलगायत थुप्रै युवाहरूको सक्रियतामा करिब साढे दुई लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री आज शनिबार बुलुङ स्वास्थ्यचौकीका इञ्चार्ज सरोज आचार्यलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा १० हजार थान सर्जिकल मास्क, केएन९५ मास्क २ हजार ३१६ थान, भरिएको अक्सिजन सिलिण्डर ३ थान (२० लिटरको १ थान र १० लिटरको २ थान), ब्ल्याङ्केट र आवश्यक सामग्रीसहितको आइसोलेसन बेड ३ थान, सेनिटाइजर २५ लिटर, अक्सिजन रेगुलेटर ३ थान छन् । त्यस्तै अक्सिमिटर ३ थान, फेसमास्क २५ थान, पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पीपीई) ७ सेट, २० थान थर्मोमिटर, १००० थान हात धुने साबुनलगायत सामग्री सहयोग गरिएको संयोज दिपक आचार्यले जानकारी दिए ।
त्यसैगरी महिला दिदीबहिनीहरूको व्यक्तिगत स्वास्थ्य समस्याको सामाधानमा सायोग पुर्याउने उद्देश्यअनुरूप सो समूहले सेनेटरी प्याड ५०० थान र डेलिभरी प्याड ५० थान पनि उपलब्ध गराएको छ । त्यस्तै स्वास्थ्यचौकीका लागि पानी फिल्टर १ थान, स्प्रे भाँडो १ थान, ग्लोब्स २ बट्टा, संक्रमितका लागि ७ क्रेट अण्डा, ३२ किलो गेडागुडी र भिटामिन ट्यावलेटलगायत सामग्री पनि हस्तान्तरण गरिएको छ ।
उल्लेखित सामग्री २ लाख ३६ हजार ८३५ रूपैयाँ बराबरको भएको समाजसेवी एवम् यो अभियानका अभियन्ता कवन आचार्यले जानकारी दिए । यी स्वास्थ्य सामग्री संकलनका लागि काठमाडौंमा बसोबास गर्दै आएका ४३ जना बुलुङेहरूले न्यूनतम १ हजार ५०० रूपैयाँदेखि अधिकतम १५ हजार ५०५ रूपैयाँसम्मको स्वेच्छिक आर्थिक सहायता गरेका थिए ।
आपतकालीन अवस्थामा थालिएको यो अभियानले आफ्नो गाउँवासीलाई लक्षित गरी कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि पहल जारी राख्ने बताएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँमा आवश्यक स्वास्थ्य सामग्रीलाई केन्द्रित गरी आगामी अभियान शुरू गरिने अभियन्तामध्येका राजन आचार्यले जानकारी दिए ।
कार्यक्रममा दोलखाली समाजसेवीद्वय गणेश शिवाकोटी र उमेश खड्काले बुलुङका युवाहरूले विपदको समयमा गरेको यो पहल अत्यन्तै सराहनीय र उदाहरणीय भएको बताए । राज्यको सम्पूर्ण स्रोत र शक्ति परिचालन गर्दा पनि कोरोना नियन्त्रणमा कठिन भइरहेको बेलामा नागरिकस्तरबाट भएको यो पहल प्रशंसनीय र सहयोगी भएको उनीहरूको भनाइ छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा रविन खड्का, नवराज आचार्य, पुस्कर मल्ल ठकुरी, केशव आचार्य र गोपीकृष्ण आचार्य, पुष्कर तामाङलगायतको उपस्थिति थियो ।















प्रतिक्रिया