७ कार्तिक २०८३, शनिबार

याक एण्ड यतिद्वारा तुलसीपुर मेट्रो हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), २१ जेठ । याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई १५ लाख रूपैयाँ बराबरको अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ ।

नेपाल घर भएर हाल अमेरिकामा बस्दै आएका याक एण्ड यतिका सञ्चालक सतिश गौचनले १० वटा अक्सिजन कन्सन्टे«टर सहयोग गरेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । अक्सिजनको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले हस्पिटललाई कन्सन्ट्रेटर उपलब्ध गराएको गौचनले बताए ।

अक्सिजन कन्सन्ट्रेटरको पहल, तुलसीपुर उपमहानगरपालिका शिक्षा सल्लाहकार शिशिर खनालले गरेका थिए । ‘दाङसहित देशैभर अक्सिजनको हाहाकार भयो । कतिपयले अक्सिजनकै अभावमा अकालमा ज्यान गुमाउनु पर्यो,’ सल्लाहकार खनालले भने, ‘रातदिनको मेहनतपछि तुलसीपुर मेट्रो अस्पतालमा कोरोना आइसोलेसन पनि सञ्चालनमा आयो । तर अक्सिजनको अभाव त उस्तै रहयो । त्यसैले नीति शालामार्फत कन्सन्ट्रेटर जुटाउने काम गरेको हुँ ।’ अस्पतालमा ५० बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने दुबै जनालाई धन्यवाद दिएका छन् । युद्धमा कुनै नियम नहुने बताउँदै नगर प्रमुख पाण्डेले कोरोना विरुद्धको महायुद्धमा लड्दै जाँदा सहयोग पनि जुट्दै गएकाले आइसोलेसन सञ्चालनमा सफल प्राप्त गरेको बताए । ‘केहि नगर्नु भन्दा धेरै गरेका छौं । तर, गर्यौं भनेर सन्तुष्टि रहने अवस्था छैन,’ नगर प्रमुख पाण्डेले भने, ‘तर थाकेका छैनौं निरन्तर काममा छौ ।’

विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोना विरुद्धको अभियानमा लड्न सहज भएको पाण्डेले बताए ।