
काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो ३१औं पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरी आज शनिबार मनाएको छ ।
पार्टी अध्यक्ष कमल थापाले सञ्चालन गरेको कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लोकन्थलीस्थित आफ्नो निवासमा द्वीप प्रज्ववल गरी समुद्घाटन गरेका थिए । नेता चन्दले राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई बैकल्पिक शक्तिको आवश्यकता रहेको विचार व्यत्तक्त गरे ।
पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा आयोजित कार्यक्रममा राणाले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पुर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले राजासहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नका निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा जुट्न आग्रह गरेका छन् ।
त्यसैगरी अध्यक्ष कमल थापाले पार्टी स्थापनाकालदेखि यहाँसम्म ल्याउन महत्त्वपूर्ण योगदान दिने नेताहरुमा सम्मान प्रकट गरेका थिए भने दिबङ्गत नेताहरुप्रति श्रद्धासुमन अर्पण गरेका थिए । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको बाटोबाट नभई राप्रपाले अवलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सक्ने उनको दाबी छ ।
त्यस्तै अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले विगतका कमीकमजोरी, सफलता असफलताको समीक्षा गर्दै पार्टीलाई गन्तव्यतर्फ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्याको दलदलमा भासिएको लोहनीको भनाइ छ ।















प्रतिक्रिया