
काठमाडौं, १५ जेठ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता बामदेव गौतमले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि जनताले गरेको त्याग र बलिदानीलाई सामान्यीकरण गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
१४औं गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता गौतमले तत्कालीन पार्टी प्रमुखहरू गिरिजा प्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल गणतन्त्रका ‘महानायक’ भएको टिप्पणी गरेका छन् । उनले जनताको त्याग र बलिदानीलाई भने सामान्य रुपमा प्रस्तुत गरेका छन् ।
‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौं नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ । तर, २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याईपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो,’ उनले लेखेका छन् ।
गौतमले गणतन्त्रसम्म आइपुग्न जनताले शहादत, त्याग तपस्या र समर्पण गरेको भए पनि जनताको योगदानभन्दा उल्लेखित तीन जना नेताको भूमिकालाई महत्वपूर्ण ठानेर जनताको योगदानलाई सामान्यीकरण गरेका हुन् । जब कि लोकतन्त्र र गणतन्त्र स्थापनामा जनतालाई प्रधान ठानिदै आएको छ र यथार्थ पनि त्यही हो । तर, गौतमले नेताहरूलई ‘महानायक’ भन्दै जनताको योगदानको अवमूल्यन गरेका हुन् ।
उनले तत्कालीन नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा ‘राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना’ तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन जना नेता विरुद्धमा रहेको विवादास्पद र स्वार्थपूर्ण तर्क गर्दै भनेका छन्, ‘बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’
यस्तो छ, उनको टिप्पणी जस्ताको तस्तै–
आज १४औं गणतन्त्र दिवस हो । यस अवसरमा सबै शहीद र अग्रज नेताहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गर्दछु ।
नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौं नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ । तर, विस. २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याईपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो । उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामीबीच हुनुहुन्न अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।
विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।
वामदेव गौतम
उपाध्यक्ष नेकपा (एमाले)
संयोजक
पार्टी एकता राष्ट्रीय अभियान
१५ जेठ २०७८ गणतन्त्र दिवस















प्रतिक्रिया