२९ आश्विन २०८३, बिहिबार

व्यङ्ग्य ब्लग : बाफरे, सभामुखको असाधारण निर्णय आउने रे !

10.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्तमान सरकारले विस्वासको मत पनि प्राप्त हुन नसके पछि र वैकल्पिक सरकार पनि बन्न नसके पछि संविधानमा भएको व्यवस्थाबमोजिम प्रधानमन्त्री र राष्ट्रपतिले साधारण निर्णय गर्नुभो ।

संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गर्नुभो । संसद विघटन भएपछि विपक्षीहरु परापूर्वकालदेखि चल्दै आएको परम्परा अनुसार मुद्दा हाल्न दौडनुभो । विचरा सभामुख बीचमा पर्नुभो । के गरौं के गरौं भो । न बैठक, न संसदको कारवाही । आफू सभामुख भएदेखि नै काम गर्नै पाएको होइन ।

निर्मल भट्टराई

काम पनि के गर्नु ? संविधानले संसदको अध्यक्षता गर्नेभन्दा केही बोलेको छैन । संसद सञ्चालन नियमावलीले कार्यव्यवस्था समितिले तयार पारेको ड्राफ्ट प्रतिनिधिसभामा पढ्ने, सांसद घेर्न आए ‘आजको यो बैठक यहीं स्थगित हुन्छ’ भनेर आफू बसेको कुर्सीबाट सुँईकुच्चा ठोक्नेसम्मको अधिकार दिएको छ ।

तर अहिलेका सभामुख सभामुखमात्र होईनन्, उनी अग्निप्रसाद सापकोटा पनि हुन् । उनी पटक-पटक सभामुखको भेषभूषामा अग्निप्रसाद सापकोटा प्रकट भएका छन् ।

अग्निप्रसाद सापकोटा अहिले बहुत सक्रिय छन् । संविधानले अनगिन्ती अधिकार दिएको बालुवाटार र स्वविवेकीय अधिकार पाएको शितलनिवाससँग पौंठेजोरी खेल्न तम्सिएका छन् उनी । विहानै खुमलटारलाई साष्टाङ्ग प्रणामसहित आदेश माग्दछन् र त्यही आदेशको क्रियान्वयन गर्न दिनभरी व्यस्त हुन्छन् उनी ।

अहिले सभामुख उर्फ अग्निप्रसाद सापकोटा गम्भीर परामर्शमा छन् । उनले हालसालै पूर्व सभामुखहरूसँग महान एवम् ऐतिहासिक बैठक सम्पन्न गरेका छन् । देशका बरिष्ठ राजनीतिक कानूनव्यवसायीसँग आफ्नै कार्यकक्षमा अग्रगामी छलाङ सहितको क्रान्तिकारी परामर्श पनि सम्पन्न गरेका छन् ।

यस्ता ‘देश र जनताको हितमा गरिएका बैठक र परामर्श’बाट भयङ्कर उत्साही छन् उनी । भर्खरै नारेको बहर गोरूजस्तो दगुरेका दगुर्यै छन् । झन खुमलटारले पुच्छर निमोठेपछि त उनको दौडाइको सीमा नै हुँदैन ।

सभामुख फगत परामर्शमात्र गर्दैनन् । बैठकमात्र गर्दैनन् । उनी महान निष्कर्षमा पनि पुग्छन् । भर्खरैमात्रको उनको निष्कर्ष यस्तो छ– आवश्यक परे असाधरण निर्णय गर्ने !

अहिले सभामुख उर्फ अग्निप्रसाद सापकोटा गम्भीर परामर्शमा छन् । उनले हालसालै पूर्व सभामुखहरूसँग महान एवम् ऐतिहासिक बैठक सम्पन्न गरेका छन् । देशका बरिष्ठ राजनीतिक कानूनव्यवसायीसँग आफ्नै कार्यकक्षमा अग्रगामी छलाङ सहितको क्रान्तिकारी परामर्श पनि सम्पन्न गरेका छन् ।

आवश्यक परे असाधरण निर्णय गर्ने !

सरकारलाई विश्वासको मत मिलेन । वैकल्पिक सरकार बन्ने स्थिति भएन । यो अवस्थालाई निकास दिन बालुवाटारले संसद विघटन गर्यो । नयाँ चुनावको तिथि घोषणा गर्यो । संविधानतः शितलनिवासले त्यसलाई अनुमोदन गर्ने निर्णय गर्यो ।  यो निर्णय संविधानबमोजिम छ कि छैन भनेर सम्मानित सर्वोच्च अदालतमा माथापच्ची बहस शुरुभएको छ । निर्णय आउन बाँकी छ ।

अनि सम्माननीय सभामुखले गर्ने भनिएको असाधारण निर्णयचाहिं के हुन सक्छ ? निर्णय गर्ने महान घोषणा भए पनि निर्णय त बाहिर आएको छैन । चासोले सबैलाई चिमोटेको छ । उकुसमुकुस छ । यो सार्वजनिक चासो मेटाउन यहाँ सभामुखले तत्काल गर्न सक्ने केही सम्भावित असाधारण निर्णयहरू सूत्रबद्ध गरिएका छन् । अरू सम्भावित असाधारण निर्णयहरू कमेन्टमा थप्न सक्ने व्यवस्था मिलाईएको समेत जानकारी गराइन्छ ।

गत हप्ता सम्पन्न भएका महान तथा गौरबशाली बैठक र परामर्श भेलामा प्राप्त सुझाबलाई एकीकृत गरी सुझाबसहितको प्रतिवेदन खुमलटार पठाउने ।

सभामुखको जागिरलाई अल्पायु प्रदान गर्ने संसद विघटनविरुद्धसर्वोच्च अदालतमा आफ्नो जागिर लम्ब्याउने पुनित मनसाय राखी सभामुखको तर्फबाट अर्को मुद्धा हाल्ने ।

चक्रवातको कारण अविरल बर्षा भइरहेकोले सिन्धुपाल्चोकको आफ्नो निर्वाचन क्षेत्रकी तामाङ्नी भाउज्यूले उत्पादन गरेको पारदर्शी झोलपदार्थ सेवन गरी शरीर न्यानो गरी कुम्भकर्ण-निन्द्रामा जाने ।

संसद विघटनसम्बन्धी मुद्दाको फैसला हुने दिन भाले डाकमा उठी नित्य कर्म गरी नुवाइधुवाइ गरी पवित्र भई कान ठाडो पारेर बस्ने ।

कथमंकदाचित् सर्वोच्च आदालतले संसद पुनस्थापनाको निर्णय गरे रमाउदै माननीयज्यूहरू अब संसदको कारवाही शुरु हुन्छ भन्ने अभ्यास थाल्ने ।

ओली सरकारले गरेको मध्यावधि निर्वाचनलाई अदालतले सदर गरिदिए पुनः पारदर्शी पदार्थ पानी नहाली पटक-पटक पेलेर अरु दुई महिना कुम्भकर्ण पथमा लाग्ने ।

आगामी निर्वाचनको मनोनयनको दिन एकाविहानै आखाँ मिच्दै सिन्धुपाल्चोकतिर हुईंकिने ।

थप अरू ? सोचौं । सभामुखलाई सजिलो बनाऔं ।