
पर्सा, १४ जेठ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँ सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता र पर्साको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल छन् । वीरगञ्जज महानगरपालिका–८ बीपीसी क्याम्पस नजिक डेरा गरी बस्ने गुप्ता समेत २ जनाले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्जज महानगरपालिका–११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गुप्ताको डेरा तलासी गर्दा २ वटा झोलामा लुकाई राखेको नगद २९ लाख ८० हजार रुपैयाँ समेत फेला पारी गुप्तालाई पक्राउ गरेको बताइएको छ ।
उनीहरुउपर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।















प्रतिक्रिया