
काठमाडौं, १४ जेठ । नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको कुटपीटका दोषीलाई चाँडो कानूनी दायरामा ल्याउन विवेकशील साझा युवा संगठनले माग गरेको छ ।
कोभिड महामारीले देश आक्रान्त बनाइरहेको बेलामा अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरूमाथि भएको भौतिक आक्रमणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो संगठनले दोषीमाथि कारबाहीको माग गरेको हो ।
‘अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर आक्रमण समेत गर्दा स्वास्थ्यकर्मीहरू माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनुपरेको घटनालाई सामान्य रूपमा लिन सकिँदैन । हामी यस आक्रमणको घोर भर्त्सना गर्न चाहन्छौँ,’ संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेरी अस्पताल आक्रमणबाट घाइते भएका डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदिक्षा गैरे र वन्दना श्रेष्ठलाई सुस्वास्थ्यको कामना समेत संगठनले गरेको छ ।
‘यस्तो अमानवीय आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्दछौँ र स्वास्थ्यकर्मीलाई भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई अनुरोध गर्दछौँ,’ संगठनले भनेको छ ।















प्रतिक्रिया