
रूपन्देही, १४ जेठ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले सहमति र सहकार्यको दृष्टिबाट लुम्बिनीको प्रदेशसभा नमूनागोग्य रहेको बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले नयाँ बजेटमा समेट्नुपर्ने विषय, कोरोना नियन्त्रण र उपचारमा प्रदेश सरकारले गरेका कामबारे छलफल गर्न आयोजना गरिएको सर्वदलीय बैठकमा उनले सो कुरा बताएका हुन् । तीन वर्षसम्म प्रदेशसभा सहमति र सहकार्यको आधारमा सञ्चालन भएर नमूना बनेको पोखरेलको भनाइ छ ।
उनले आगामी दिनमा पनि सहमति र सहकार्यको यात्रालाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै प्रतिपक्षी दलहरूसँग त्यस प्रकारको सहयोगको अपेक्षा आफूले गरेको पनि बताएका छन् ।
विपक्षी दललाई समेट्ने प्रयासस्वरूप मुख्यमन्त्री पोखरेलले बोलाएको सो बैठकमा सत्तारुढ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एंव पूर्वमन्त्री लिला गिरी, एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, प्रमुख सचेतक फखरुद्दीन खान र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती सहभागी थिए ।
यस्तै प्रदेश सरकारका मन्त्रीहरु आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री पोखरेलको पुनः नियुक्ति अस्वीकार गर्दै आएका विपक्षी दलहरू सर्वदलीय बैठकमा भने सक्रियतापूर्वक सहभागीता जनाएका छन् ।
बैठकमा मुख्यमन्त्री पोखरेलले अक्सिजनको सहज आपूर्ति व्यवस्था मिलाइएको, कोरोना संक्रमण शुरू भएसँगै एक वर्षदेखि प्रदेशमा ६०० जना जनशक्ति थप गरी निरन्तर खटाइएको बताए । व्यवस्थित जनशक्ति परिचालनमा लुम्बिनी प्रदेश पहिलो भएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
बैठकमा प्रदेशसभाको व्यवस्थित र प्रभावकारी सञ्चालनबारे समेत छलफल भएको थियो ।















प्रतिक्रिया