७ कार्तिक २०८३, शनिबार

मैले किनेको सामान विदेशी अनुदान होइन : वनमन्त्री आले

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १ जेठ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको दाबी गरका छन् ।

सेती प्रादेशिक अस्पताल कैलालीमा आज (मंगलबार) अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए । उनले भने, ‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।’

महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको मन्त्री आलेले बताए । मन्त्री आलेले वितरण गरेका सिलिन्डरमा उनकाे तस्बिर अंकित गरिएकाे छ ।

उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने, ‘म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।’

मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ । रासस