
ललितपुर, १० जेठ । गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्रीवितरण गरेको अभियोगमा ललितपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल शितलहाईट डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका–१ ठेगाना भएका लाइफलाइन सर्जिकल हाउसका सञ्चालक २६ वर्षीय आशिष प्याकुरेल छन् । उनलाई हिजो आइतबार प्रहरीले पक्राउ गरेको हो ।
कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने ‘७५% ह्याण्ड स्यानिटाइजर’ बजारमा खुलेआम विक्रीवितरण भइरहेको पाईएकोले त्यस्ता स्यानिटाइजरको गुणस्तर जाँचका लागि औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा उक्त स्यानिटाइजर मिथानोल रसायन २४% भेटिएको थियो ।
स्यानिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथि नियन्त्रण गर्नुपर्ने जरुरी रहेको भन्ने औषधि व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न प्याकुरेललाई पक्राउ गरेको हो ।
आशिषले शितलहाईटमा घर भाडामा लिई औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘रिप्याक्ट बाई आरसीबी ईण्डस्ट्रिज पर्सा’, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी स्यानिटाइजर तयारी तथा प्याकिङ गरी विक्री गर्ने गरेको स्थानबाट करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर इथेनल रसायन, विभिन्न स्टिकरहरू र त्रिपुरेश्वरस्थित लाइफलाइन सर्जिकल सप्लायर्सबाट करिब ५ हजार लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको छ ।
बरामद भएका स्यानिटाइजरको बजार मूल्य करिब १ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको छ । उक्त सर्जिकल हाउस औषधि व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा शील गर्नुका साथै बजारमा विक्रीवितरण हुन नदिन प्रहरीले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिरहेको छ ।















प्रतिक्रिया