काठमाडौं, ९ जेठ । एमालेका युवा नेता एवम् समाजसेवी विदुर घिमिरेले पार्टीभित्रको विवादका विषयमा चिन्ता जनाएका छन् ।
घिमिरेले आइतबार प्रेस नोट जारी गरेर एमालेको सरकारलाई असहयोग गर्ने समूहहरूको गतिविधिले देशको राजनीतिक अस्थितामा गएको बताएका हुन् ।
उनले भने, ‘पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई असहयोग गर्ने पार्टीभित्रकै नेताहरूका कारण एमालेलाई ठूलो धोका भएको छ । आफ्नै पार्टीको सरकार ढाल्न मेहनत गर्ने नेताहरूलाई कार्यकर्ताले दण्ड दिनेछन् ।’
पार्टीभित्र विवाद छ भने आन्तरिक रुपमा छलफल गरेर समाधान गर्न सकिने बताए । ‘ठूला–ठूला विवाद पनि सम्वाद गरेर मिलाउन सकिन्छ । एमालेभित्रको विवाद मिलाउन उच्चस्तरीय कार्यदल बनेको थियो’, एमालेका युवा नेता घिमिरेले भने, ‘सम्वाद चलिरहेका बेला माओवादी केन्द्र र नेपाली कांग्रेसको पुच्छर बनेर आफ्नै सरकार ढाल्ने कमरेडहरूलाई कार्यकर्ताले छाड्ने छैनन् ।’
उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले विवाद मिलाउँछु भनेर एकताका लागि आह्वान गरेका बेला भएका गैरराजनीतिक क्रियाकलाप उचित नरहेको बताए ।
संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार बन्न नसकेपछि सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने निर्णयको युवा नेता घिमिरेले स्वागत गरेका छन् ।
‘कीर्ते गरेर हस्ताक्षर बनाएर प्रधानमन्त्रीमा दाबी गर्न जानेहरूलाई राष्ट्रपतिबाट मान्यता दिनुभएन । ठीक भयो । संविधानको संरक्षकले गर्ने त्यही हो’, उनले भने, ‘आफ्नै पार्टीको प्रधानमन्त्रीविरुद्ध कांग्रेससँग पछाडि लागेर हस्ताक्षर बोकेर जानेलाई छिटोभन्दा छिटो एमालेले कारबाही गर्नुपर्छ ।’
एमालेभित्रका धमिरा र मुसाहरूलाई कारबाही गरेर शुद्धीकरण अभियान चलाउनुपर्ने एमालेका युवा नेता घिमिरेले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनले एमालेको सरकारले गरेका विकासका कामबाट विरोधीहरूलाई चलन भएको समेत आरोप लगाएका छन् ।
घिमिरेले निर्वाचनका लागि जुट्न आह्वान गरेका छन् । उनले कोरोना महामारीका बेला स्वास्थ्य मापदण्डलाई पालना गरेर प्रचार प्रसारमा जानुपर्ने बताएका छन् ।
‘सरकारले कोरोनाविरुद्धको भ्याक्सिन ल्याएर जानतालाई लगाइदिइरहेको छ’, उनले भने, ‘हामीले सरकारालाई साथ दिएर क्रमशः निर्वाचततिर होमिनुपर्छ ।’















प्रतिक्रिया