
काठमाडौं, ९ जेठ । पछिल्लो पटक भएको प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले लोकतन्त्रको पक्षमा फैसला गर्ने विवेकशील साझा पार्टीले विश्वास लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन तथा नयाँ निर्वाचनको घोषणाबारे विवेकशील साझा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
‘सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्नेछ भन्ने विवेकशील साझा पार्टीको विश्वास छ,’ पार्टीका प्रवक्ता शरदराज पाठकले बैठकपछि भने ।
उनका अनुसार बैठकले संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता सञ्चालन गर्ने ओली र भण्डारीको पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता भएको निष्कर्ष पनि निकालेको छ । त्यस्तै कोभिड–१९ ले मुलुक आक्रान्त भएको बेला औषधि, अक्सिजन, अस्पताल–शय्या नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन निर्णय भएको पनि सो पार्टीले बताएको छ ।
विवेकशील साझा पार्टी अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँदै प्रवक्ता पाठकले भने, ‘मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र होइन प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार छन् । परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनु परिरहेको छ ।’















प्रतिक्रिया