
काठमाडौं, ८ जेठ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले इचङ्गुनारायणमा ३०० शय्या क्षमतामा अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।
नागार्जुन नगरपालिका–१ इचङ्गनारायणस्थित रानीवनमा अवस्थित खाली अवस्थामा रहेको सरकारी ब्लक ए भवनमा आज शनिबारदेखि आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो । विद्यमान कोभिड–१९ महामारीको असहज अवस्थामा कोरोना पोजेटिभ भई सामान्य लक्षण देखिएका, घरमा रेखदेख गर्ने मानिस नभएका वा अक्सिजनको सामान्य तहमा कमी भएका बिरामीलाई लक्षित गरी सो आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ ।

सरकारबाट अनुमतीप्राप्त अक्सिजनसहितको आइसोलेशनमा अक्सिजन लेभल ९० भन्दा कम नभएका, सुगर तथा प्रेसरलगायत दीर्घ रोग नभएका र हिँडेरै आफै आइसोलेशन बेडसम्म जानसक्ने संक्रमितहरूका लागि यो आइसोलेशन उपयुक्त भएको जानकारी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले दिएको छ । संघका अनुसार यो आइसोलेशन केन्द्र नेपालमा हालसम्मै ठूलो समेत हो ।
उक्त आइसोलेशन केन्द्र अनुमतीप्राप्त सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र प्रालिको प्राविधिक सहयोगमा सञ्चालन गरिने भएको छ । सो आइसोलेशन केन्द्रमा विमारीहरूले निःशुल्क सेवा प्राप्त गर्ने समेत संघले जानकारी दिएको छ ।















प्रतिक्रिया