
परासी, ७ जेठ । परासीका युवा विद्यार्थीहरुको एक समूहले फेसबुक ग्रुपमार्फत रकम संकलन गरेर पृथ्वीचन्द्र अस्पतालका कोभिड बिरामीलाई फलफूल, प्रोटिनयुक्त खाना तथा पानी वितरण गरेको छ ।
फेसबुक ग्रुप हेल्पिङ्ग हेन्ड्सले आज एक कार्यक्रमकाबीच अस्पतालका २६ जना कोभिड बिरामीलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । ग्रुपका संयोजक रामप्रसाद पौडेलले अस्पतालका निमित्त प्रमुख डा.मोहम्मद नुरुल होदालाई उक्त सामान हस्तान्तरण गरे ।
कोरोना भाईरसको संक्रमण महामारी विरुद्ध मुलुक नै जुधिरहेका बेला युवा विद्यार्थीले पनि यो लडाईंमा विजयी प्राप्तिका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले फेसबुकमार्फत अभियान सञ्चालन गरेर सहयोग गरेको संयोजक पौडेलले बताए ।
आज पहिलो चरणमा अस्पतालका बिरामीलाई ३० प्याकेट फलफूल, प्रोटिन खाना तथा पानीका जार पाँच थान हस्तान्तरण गरेको बताउँदै सहयोग अभियान निरन्तर रहने ग्रुपकी सदस्य सुजु पराजुलीले बताए । रकम संकलन अभियानमार्फत अब अति विपन्न नागरिकलाई पनि सहयोग गर्ने तयारी भईरहेको ग्रुपकी अर्की सदस्य दुर्गा अधिकारीले बताए ।
सामग्री बुझ्दै अस्पतालका निमित्त मेसु डा.होदाले मानवताको सेवामा अघि बढेका सहयोगी हातहरुप्रति आभार व्यक्त गरे । उनले विद्यार्थीहरुबाट भएको यो मानवीय सेवाबाट बिरामीको रोग प्रतिरोधक क्षमता बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया