काठमाडौं, ६ जेठ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने देखिएको छ। कोभिसिल्डको पहिलो डोज लिएका ६५ वर्षमाथिको उमेर समूहका नागरिकका लागि दोस्रो डोज कसरी उपलब्ध गराउने भन्ने अन्योल उत्पन्न भएको छ।
मंगलबार सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले कोभ्याक्स र अन्य मुलुकलाई यो वर्षको अन्त्यतिरबाट मात्रै खोप दिन सकिने आशा व्यक्त गरेका छन्। भारतमा महामारी फैलिएपछि आफ्नो देशका नागरिकलाई चाहिने खोप सुरक्षित नगरी विदेशमा निर्यात गरेको भन्दै नरेन्द्र मोदी सरकारको चर्को आलोचना हुँदै आएका बेला सेरमले तत्काल देशबाहिर खोप नदिने निर्णय लिएको हो।
नेपालमा कोभिसिल्डको पहिलो डोज खोप लगाएकाले १२ सातभित्र दोस्रो डोज लिनुपर्छ। सेरमले दिएको जानकारीले नेपाललाई जेठभित्रै प्राप्त भइसक्नुपर्ने १० लाख डोज खोप आउने स्थिति नदेखिएको कोभिड–१९ विरुद्धका खोप संयोजक डा.श्यामराज उपे्रतीले बताए। एक महिनाअघि नै नेपाल आइसक्नुपर्ने खोप भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि निर्यातका लागि प्रतिबन्ध लगाइएसँगै रोकिएको थियो। नेपालले यो खोपका लागि अग्रिम भुक्तानी गरिसकेको छ। कोभ्याक्सले मेभित्रै दिने भनेको खोप पनि कम्पनीको जानकारीले अन्योलमा परेको डा.उपे्रतीको भनाइ छ।
पहिलो डोजको खोपले तीन महिना निश्चित रूपमा काम गर्ने र त्यसपछि त्यसको प्रभाव न्यून हुँदै जान सक्ने जनाइएको छ। यो हिसाबले नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको बेलामा ६५ वर्षमाथिका उमेर समूह जोखिममा पर्ने डा. उपे्रतीले बताए। ‘कोभ्याक्सले २० प्रतिशत खोपअन्तर्गत दिने भनेको खोप पनि अहिलेसम्म उपलब्ध गराउन सकेको छैन, अक्टोबरपछि दिन सक्छ,’ उनले भने।
पहिलो डोजका रूपमा जुन कम्पनीको खोप लिएको हो, दोस्रो डोज पनि त्यही कम्पनीकै हुनुपर्छ। सेरमले २० लाख डोज, कोभ्याक्सले २२ लाख ५० हजार डोज खोप दिने भनेपछि नेपाल सरकारले उपलब्ध भइसकेको १० लाख डोज खोप लगाउन थालेको थियो। दुवै प्रक्रियाबाट खोप नआउने भएपछि कार्यक्रम अन्योलमा परेको अधिकारीहरू स्विकार्छन्। ‘अन्य कम्पनीको खोप दिनै मिल्दैन, अब भारतले नदिएसम्म विकल्पै छैन,’ डा. उपे्रतीले भने।
सुरुमा पहिलो डोज लिएको १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने नियम थियो तर विश्व स्वास्थ्य संगठनले चार महिनासम्म पहिलो डोजले काम गर्ने जनाएकाले त्यस अवधिसम्म कोभ्याक्सले कुनै माध्यमबाट नेपाललाई खोप दिन सक्ने सम्भावना रहेकोले आत्तिनु नपर्ने परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए। ‘भारतमा संक्रमण फैलिएकाले अहिलेको अवस्थामा ढिला दिने भने पनि अग्रिम भुक्तानी लिएको खोप अगाडि नै पनि दिन सक्छ,’ डा. पोखरेलले भने। पवित्रा सुनारले नागरिक दैनिकमा समाचार लेखेकी छिन् ।















प्रतिक्रिया