बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मलाई धिक्कार छ आमा !

रूक्शिलालाई जस्तै सबैलाई चेत प्रदान गरोस्

विष्णु छिमेकी २०७८ वैशाख ३० गते ११:२१

‘अस्ति (मंगलबार) मातातीर्थ औंसीको दिन ।

सबैले आमाको फोटो राखेर ‘ह्याप्पी मदर्स डे’ भन्दै फेसबुकमा पोष्ट गरेको देख्दा मेरो मुटु भक्कानिएर आयो । अर्काको स्वार्थका लागि, अरूले देखाएको लालीपपको लोभमा आफ्नी आमालाई धोका दिएर, आमाको छातीमा कुल्चेर आफ्नो घर भतकाउॅदै हिंडेको कुराले यतिबेला पीडाबोध भएको छ । मलाई धिक्कार छ आमा !

सुटबुटमा सजिएको, कालो चस्मा, टाई लगाएको, जुल्फी लर्काएको एउटा मान्छे आयो । चकलेट दियो । लालीपप देखायो । उस्ले भन्यो– म नै तिमीहरूको असली बाबु हुॅ । कुरा सुन्दा होला जस्तो पनि लाग्यो । हामी उसैको पछि लाग्यौं । बिस्तारै उसले हामीलाई गाली गर्न सिकायो । गालीका फोहोरी शब्दहरू पढायो । अनि हाम्रै आमाविरूद्ध भडकाउन थाल्यो ।

हामी पनि उसकै स्वरमा स्वर मिलाउॅदै आमाका विरुद्ध बक्न थाल्यौं । ७२ वर्षकी मेरी आमालाई सहारा चाहिने बेलामा हामीले घात गर्र्यौं । नक्कली ‘बा’को पछि लागेर हिड्यौं । म त सानै थिएँ । दाई म भन्दा ठूलो थियो । धेरै कुरा बुझेको छ उसले जस्तो लाग्थ्यो । तर, उसले बुझेर पनि मलाई नभनेको रहेछ । उसले पनि मलाई भर्याङ बनाएर माथि उक्लन र आफ्नो स्वार्थ पूरा गर्न खोजेको रहेछ ।

तिम्रा बा बितेपछि तिम्री आमाको यौवन र जवानीमाथि आँखा गाड्ने धेरै थिए । त्यसमध्येको एउटा खेलाडी त्यो पनि हो । त्यसले तिम्री आमालाई बलात्कार गर्न खोजेको थियो । तिम्री आमा ज्याद्री भएर मात्र हो । नत्र के–के गरिसक्थ्यो त्यसले ।

मेरो घर । घर अगाडि सुन्दर फूलबारी । घर पछाडि बगैंचा, गैरीखेत । गोठमा लैनो भैंसी । भकारीमा धान । सुलीमा मकै, करेसामा तरकारी । के कमी थियो र हाम्रो ? ‘मेरो त भकारीमा धान छ । कुट्छु, खान्छु । तेरो चामल ! आगो चाहियो, पानी चाहियो, दाउरा चाहियो, पकाउन परो, भॉडा माझ्न परो…’ आदि भनेर कसैले उक्साएको भरमा, अर्काको बुद्धीमा लागेर अर्काको घर राम्रो देख्नु मेरो महाभूल थियो !

घरमा सबै कुराको रेखदेख गर्ने माली बा हुनुहुन्थ्यो ! फूलबारीमा रंगीविरंगी फूल रोप्ने, झारपात उखेलेर फ्याँक्ने, पानी हाल्ने कामदेखि बजार जाने, खेतीपातीको रेखदेख, अन्नपात, औषधिमूलोको जोहो उहॉले नै गर्नु हुन्थ्यो । हाम्रो पठनपाठन, घरको स्याहार सम्भार, बस्तुभाउको रेखदेख, पानीबत्ती सबै काम उहॉलेनै भ्याउनु हुन्थ्यो । हाम्रो आफ्नै बा नभए पनि हामीलाई अभिभावकत्व प्रदान गर्ने कुरामा कुनै कमी हुन दिनु हुँदैनथ्यो । कहॉको माली बा कहॉको नक्कली बा !

माली बा भन्दै हुनुहुन्थ्यो ‘त्यो तिम्रो बा होईन नानी । त्यो त नरपिसाच हो । त्यसले जे पनि भन्छ । जे पनि गर्छ । उसको पछि नलाग । उसको पछि लाग्नेहरु आज धेरै पछुतोमा परेका छन् । उसका आफ्नै सन्तानले पनि उस्लाई विश्वास गर्न छोडेका छन् । तिम्रा बा बितेपछि तिम्री आमाको यौवन र जवानीमाथि आँखा गाड्ने धेरै थिए । त्यसमध्येको एउटा खेलाडी त्यो पनि हो । त्यसले तिम्री आमालाई बलात्कार गर्न खोजेको थियो । तिम्री आमा ज्याद्री भएर मात्र हो । नत्र के–के गरिसक्थ्यो त्यसले ।

‘आई लभ यु’ भन्दै बिहे गर्ने नाटक पनि नगरेको होईन उसले । केही सीप नलागेर अब तिमीहरुलाई आमासँग भड्काउन खोजिरहेको छ । यदि तिमी भड्कियौ भने तिमिलाई पनि बेच्ने छ उसले । साबधान नानी । तिमीहरूको लालनपालनमा तिम्री आमाले धेरै मेहनत खर्च गरेकी छिन् । धेरै पीडा खपेकी छिन् । धेरै अपमान सहेकी छिन् ।त्यसको भारा तिर्न तिमीहरूले यो जुनीमा पनि सक्दैनौ ।

तिम्रो गैरीखेत खान नपाएको झोकमा डोबाटोको साहु पनि तिम्री आमाकोविरुद्ध ऐरे–गैरै सबैलाई गोलबन्द गर्दैछ । उसले तिम्रा नक्कली बा मात्र होइन ठूलाघरे माईलो, बाटा पारीको साईलो, तिम्रै छिमेकी काका सबैलाई तिम्रो परिवार तहस नहस बनाउन सिकाईरहेको छ । तिम्री आमालाई कसैसँग टाँसो लगाउन पाए गैरीखेत खर्लप्पै खान्थें भन्ने दाउमा छ उ । तिम्रो दाईलाई पनि उसैले उक्साई रहेछ । राम्रो जागिर दिने प्रलोभन देखाएको छ । घरमा तेरो हालीमुहाली चलाईदिन्छु भनेर उचालेको छ उसले

तिम्रो दाई तेहि साहुको उक्साहटमा तिम्रो नक्कली बा लाई साथ दिंदैछ । तिम्रो आमाले मोटरबाइक नकिनिदिएको झोक फेर्दैछ । घर पोलेर कटेरो खोज्दैछ । गाई मारेर गधा पोस्दैछ ।

बा को हुन ? आमालाई नै था होला । तर, आमा मेरै हुन् । यस्मा कुनै शंकै छैन । उनैले नौ महिना कोखमा राखिन् । दशधारा दूध पिलाइन् । हुर्काईन्, बढाईन् । मलाई संसार देखाईन् । आज म जे छु, उनकै माया र कृपाले छु । उनले नचाहेको भए म हुने नै थिइनँ । भई हाले पनि रहने थिइनँ । उनले जे गरिन मेरा लागि गरिन् । जे गरिनन् त्यो पनि मेरै लागि गरिनन् । उनी महान छिन् । उनी भन्दा ठूलो यो संसारमा कोहि हुनै सक्दैन । तर, आज मैले उनको लागि के गरें ? उनलाई कमजोर ठानें, आफुलाई महान । उनले मलाई होईन, मैले उनलाई जन्माएको भन्ने ठाने ! बॉच्न त अब उनी नभए पनि म बॉचुला, तर, मैले उनलाई आमाको स्थानमा राख्न सकिनँ भने भोलि म कहॉ बसौला ?! मेरा सन्तानले मलाई कहॉ राख्लान ?

आमाको स्याहार गरेर बस्यो भने सारा सम्पत्ति तिमीहरूकै हो । तिमीहरू मिलेर बस्यौ भने दोबाटे साहुको केही लाग्दैन । माली बा पनि बुढा भैसके । त्यो सम्पत्ति स्याहार्न पनि तिमीहरु घर फर्किनु पर्छ । तिमीहरू फर्केनौ भने तिम्रो सम्पत्ति गिद्धले मासु लुछेजस्तै सबैले लुछ्ने छन् । अनि तिम्रो परिवार त सकिन्छ नै समाजमा आफ्ना सन्तानप्रतिको आमाको भावनामा पनि गहिरो ठेस लाग्ने छ ।

‘बा, हजुर बालाई फाले पनि डोको चाहिं नफाल्नु, किनकी फेरि हाम्लाई चाहिन्छ’ । भन्ने अवस्था आउन सक्छ !

कुनै कुनै बेला पनि कस्तो आउॅदो रहेछ !? एउटा कुरा मनमा लागेपछि अरूका कुरा सुन्नै मन नलाग्ने ! आमामाथि गद्दारी गरेर नक्कली बा को पछि लागेर हिंडेपछि सानुकाका हामीलाई सम्झाउन आउनु भयो । उहॉ भन्दै हुनुहुन्थ्यो– ‘छोरी घर फर्क । अझै केही बिग्रेको छैन । दाइलाई पनि सम्झाउ । आमाको स्याहार गरेर बस्यो भने सारा सम्पत्ति तिमीहरूकै हो । तिमीहरू मिलेर बस्यौ भने दोबाटे साहुको केही लाग्दैन । माली बा पनि बुढा भैसके । त्यो सम्पत्ति स्याहार्न पनि तिमीहरु घर फर्किनु पर्छ । तिमीहरू फर्केनौ भने तिम्रो सम्पत्ति गिद्धले मासु लुछेजस्तै सबैले लुछ्ने छन् । अनि तिम्रो परिवार त सकिन्छ नै समाजमा आफ्ना सन्तानप्रतिको आमाको भावनामा पनि गहिरो ठेस लाग्ने छ । तिम्री आमा महान छिन् । आफ्ना सन्तानले अक्षम्य गल्ती गरे पनि सहज रुपमा तिमीहरुलाई स्वीकार गर्छिन ।’

त्यहि नमानेको भएर पनि होला आज झन धेरै पीडा भएको छ । सबैले आफ्नो आमाको फोटो फेसबुकको वालमा राखेर पोष्ट गर्दा मैले मेरी आमाको नाकमा फूली लगाएको नयॉ फोटो पोष्ट गर्न सकिनँ । धिक्कार छ मलाई । फेरि बा लाई सम्झिरहिछु साँच्चीकै मेरा बा जीवित भएको भए आज यो दिन आउॅदैनथ्यो होला ! मेरी आमाले पनि यो अवस्था भोग्नु पर्दैनथ्यो होला ! माली बा मैले हजुरले भनेको मानिनँ मलाई माफ गर्नु होला । सानुकाका हजुरको आग्रह शीरोपर गरें । ढीलै भए पनि मेरो होस खुलेको छ । चेत पलाएको छ । आमा तिमी महान छौ । महान रहिरहने छौ । म तिम्रै साथमा छु ।’ – हजुर की छोरी रूक्शिला ।

मातातीर्थ औंसीले रूक्शिलालाई जस्तै सबैलाई चेत प्रदान गरोस् । आमाप्रतिको माया ममतालाई अझै गाढा बनाओस् । आमालाई औंसीमा मात्र होइन सधैं सम्मान गरौं । पोले पनि घामै प्यारो, पीटे पनि आमै प्यारो ।

मे १२, २०२१
सिकागो, अमेरिका

लेखकबाट थप

प्रतिक्रिया
सम्बन्धित