१ कार्तिक २०८३, शनिबार

राजमो अनिर्णीत हुँदा गण्डकीमा अन्योल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २८ वैशाख । सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अनिर्णीत बन्दा गण्डकी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अन्योल यथावत् छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् ।

अहिले राजमोका तीन सांसदलाई आफ्नो पक्षमा ल्याउन सत्तारूढ एमाले र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन कसरतमा छन् । यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गरेको राजमोले पछिल्लो विकसित राजनीतिक घटनाक्रममा भने ठोस निर्णय लिएको छैन । यद्यपि उक्त पार्टीको गण्डकी संसदीय दलकी सचेतक पियारी थापाले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई सघाउन सोमबार ह्वीप जारी गरेकी छन् तर उक्त पार्टीका संसदीय दलका नेता कृष्ण थापाका कारण राजमो ठोस निर्णयमा पुग्न सकेको छैन ।

‘परिस्थिति नयाँ सिर्जना भएको छ, हामी आत्तिएर भएन, कसको सरकार बन्छ भन्ने मंगलबार टुंगिन्छ,’ थापाले भने, ‘एक पटक बैठक बसेपछि एक वर्षलाई पुग्छ । सचेतकको ह्वीप पनि पढ्नुपर्‍यो ।’ थापाका कारण हस्ताक्षर संकलन कार्यक्रम सोमबार पनि यत्तिकै रहेको हो ।

राजमोले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयअनुसारै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्तावित गर्दै विपक्षी मोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि सोमबार मतदानको कार्यसूची तय गरिएकोमा आइतबारै मुख्यमन्त्रीले राजीनामा दिएपछि घटनाक्रमले नयाँ मोड लिएको हो ।

नयाँ सरकार गठनका लागि हस्ताक्षर संकलन कार्यक्रम तय गरेका विपक्षी दलले राजमोका कारण सोमबार हस्ताक्षर संकलन गर्न नसकिएको बताए । ‘भोलिको दिन पूरै बाँकी छ भनेर हस्ताक्षर गर्नुभएन,’ कांग्रेसका एक सांसदले भने, ‘राष्ट्रिय जनमोर्चा पार्टीको स्पष्ट निर्णय छ । उहाँहरूको साथ हामीलाई नै हो । उहाँहरूको बैठक जारी रहेकाले हामीले निर्णय कुरेका छौं ।’ राजमोको सोमबार बिहान ११ बजे बसेको बैठक बेलुका ५ बजेसम्म चलेको थियो ।

राजमोका प्रदेश अध्यक्ष शंकर बरालले पार्टीले ह्वीप जारी गरेको र त्यसलाई सबै सांसदले कार्यान्वयन गर्नुपर्ने बताए । ‘सांसद व्यक्ति होइन, पार्टी हो,’ उनले भने, ‘पार्टीको विधान र नियम होलान् । त्यसअनुसार सबै चल्नुपर्छ ।’ पार्टीको निर्देशनअनुसार राजमो सचेतक पियारी थापाले सांसद कृष्ण थापा र खिमविक्रम शाहीलाई नयाँ सरकार गठनमा हस्ताक्षर गर्न ह्वीप जारी गरेकी हुन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।